सर्वोच्च अदालतको फुल कोर्ट बैठक आज बस्दै, संवैधानिक इजलासको विषयमा छलफल हुँदै
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज सर्वाच्च अदालतको फुल कोर्ट बैठक बोलाएका छन् । पछिल्लो समय संसद विघटनसम्बन्धी मुद्दाका लागि गठित संवैधानिक इजलासमा विवाद देखिएपछि इजलास गठन सम्बन्धी नियमावली संशोधन गर्न प्रधानन्यायाधीश राणाले फुल कोर्ट बैठक बोलाएका हुन् ।
आजको बैठकमा इजलास गठन सम्बन्धी नियमावली संशोधन, सर्वाच्च सेवा विस्तार लगायतका बिषयमा छलफल हुने बताइएको छ ।
मंगलबारको इजलासमा नेकपा विभाजनसम्बन्धी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र त्यसमा पुनरावलोकन अस्वीकार गर्ने न्यायाधीश तेजबहादुर केसी समावेश भएको भनेर रिट निवेदकका कानुन व्यवसायीले प्रश्न उठाएका थिए । तर, दुवै न्यायाधीशले त्यो मुद्दाको प्रतिनिधिसभा विघटनसँग सम्बन्ध नभएको भन्दै इजलासबाट अलग हुन अस्वीकार गरेपछि इजलासका सदस्यहरु दिपक कार्की र आनन्दमोहन भट्टराईले त्यसमा असहमति व्यक्त गर्दै इजलासमा नबस्ने घोषणा गरेका थिए ।
सोहि दिन प्रधानन्यायाधीश राणा र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीबीच संवैधानिक इजलाससम्बन्धी विवादको दीर्घकालीन समाधान खोज्ने विषयमा सहमति भएको थियो । कुनै कन्फ्ल्क्टिस अफ इन्ट्रेष्ट भएमा वा स्वास्थ्यका कारणबाट बस्न नसक्ने भएमा त्यसभन्दा तहको न्यायाधीश राख्ने सहमति भएको बारले जनाएको थियो ।
अब इजलास गठन सम्बन्धी नियमावली संशोधन पछि संवैधानिक इजलासको पुनर्गठन वरिष्ठताका आधारमा हुनेछ । प्रधानन्यायाधीश राणाले अर्को सुनुवाई २३ गते बोलाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय