प्रतिनिधिसभा विघटनविरुद्ध रिट: आजदेखि सरकार पक्षको बहस सुरु
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आजदेखि सरकार पक्षको बहस सुरु हुँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइमा हिजो निवेदन पक्षको बहस सकिएसंगै आज पाँचौ दिनदेखि विपक्षीको बहस शुरु हुन लागेको हो ।
आजदेखि रिटमा बिपक्षीमा रहेका राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तर्फबाट बहस हुनेछ। जसका लागि उनीहरुलाई १५ घण्टाको समय निर्धारण गरिएको छ। यस अघि निवेदकको पक्षमा १२ घण्टा बहस भईसकेको छ भने बाँकी रहेको ३ घण्टा विपक्षीको बहसपछि जवाफी बहस हुनेछ।
आज विपक्षीको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस सुरु गर्दै छन् । बडालका लागि तीन घण्टा समय छुट्याइएको छ भने बडालपछि नायब महान्यायाधिवक्ता पदम पाण्डेयले बहस गर्नेछन् ।
महान्यायाधिवक्ता कार्यालयका तर्फबाट कुल ११ जना वकिलले साढे ७ घण्टा बहस गर्नेछन् भने साढे ६ घण्टा राष्ट्रपति र प्रधानमन्त्रीका निजी कानून व्यवसायीले बहस गर्ने छन्।
सभामुखका कानून व्यवसायीले एक घण्टाको समय पाउने छन् । त्यसपछि निवेदक पक्षले जवाफ दिने छन् । जवाफ सकिएपछि एमिकस क्युरीको बहस शुरु हुनेछ । एमिकस क्युरीक लागि २ घण्टाको समय छुटाइएको छ । यी सबै बहसपछि मात्रै अदालतले अन्तिम फैसला गर्नेछ । सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिने बताइएको छ ।
यस अघि संवैधानिक इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो । सो अवधिमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरेका थिए ।
प्रकाशित मिति: सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय