हिमाल दैनिक
प्रदेश नं २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त
235295480_221394159994863_1402752509183745462_n
प्रदेश नं २ को प्रदेश प्रमुखमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व सांसद हरिशंकर मिश्रलाई नियुक्ति गरेकी छिन् । पूर्व सरकारको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सामाजिक संजालमा भक्ति गान गरेर चर्चामा आएका राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्ति गरेर उक्त पदको मानमर्दन भएको चर्चा चलि राखेको बेलामै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलले अहिराजलाइ पद मुक्त गर्ने शिफारिस गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषदको शिफारिस अनुसार अहिराजको बहिर्गमन पछि रिक्त रहेको प्रदेश प्रमुख पदमा मिश्रलाई राष्ट्रपतिले नियुक्ति गरेकी हुन् । महोत्तरीबाट २०४८ सालमा कांग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचित मिश्र कांग्रेसका पुराना नेता राम नारायण मिश्रका छोरा हुन् । जसले २००७ साल पछि तराईमा कांग्रेसको संगठन विस्तारमा अतुलनिय भूमिका निर्वाह गरेका थिए । २०१५ सालमा जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाको मन्त्रि मण्डलमा समेत मन्त्री रहेका मिश्रले त्यति बेलाको समाजमा सामाजिक र आर्थिक परिवर्तनको अनगिन्ति कदम चालेको इतिहास छ । उनै राम नारायणका छोरा हरिशंकर मिश्रलाई वर्तमान सरकारका प्रधानमन्त्री देउवाले संबिधानमा रहेको संघियताको अभ्यास अन्तर्गत प्रदेश प्रमुखमा नियुक्तिको शिफारिस गरेर उनि र उनको परिवारले देश, कांग्रेस र समाजलाई लगाएको गुण तिर्ने प्रयास गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८