हिमाल दैनिक
लगातार दुई गोलले खेलाडीको मनोबल कमजोर भयो:  कप्तान किरण चेम्जोङ
kiran-chemjong
माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ । सोमबार बिहान स्वदेश फर्किएको नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी लगायतले भव्य स्वागत गरे । नेपाली टोलीलाई स्वागत गर्न ठूलो संख्यामा फुटबल समर्थकहरु विमानस्थल पुगेका थिए । मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । तर, नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । स्वदेश फकिएपछि नेपाली टोलीका कप्तान किरण कुमार चेम्जोङले उपाधि जित्नबाट बञ्चित भए पनि अहिलेको प्रदर्शनका आधारमा खेलाडीहरुलाई आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न थप हौसला मिलेको बताए । उनले लगातार दुई गोल हुँदा खेलाडीको मनोबल पनि कमजोर भएको तर्क गरे । उनले भने,“पहिलो हाफमा हामीले उत्कृष्ट प्रदर्शन गरेका थियौं । सोही अनुसार अन्तिम समयसम्म पुग्न सकेनौं । पाँच मिनेटभित्र नै हाम्रो खेल उल्टियो । लगातार दुई गोल हुँदा खेलाडीको मनोबल पनि कमजोर भयो। " उनले नयाँ खेलाडीहरुलाई पनि अहिलेको अनुभवले आगामी दिनमा सहज हुने बताए । किरणले फाइनमा प्रशिक्षक र अञ्जन बिष्टको अभाव देखिएको पनि बताए । उनले भने “उपाधि जित्न नसक्दा दुःख लागेको छ । तर, अहिलेको कमजोरीले अघिल्लो प्रतियोगितामा सुधार गर्दै उत्कृष्ट प्रदर्शन गर्ने आँट भने पलाएको छ । उपविजेता बन्नु पनि हाम्रो लागि एक हौसलाको बाटो हो । यसले युवा खेलाडीलाई पनि आगामी दिनमा सहज हुनेछ,” त्यस्तै खेलकुदमन्त्री गहतराजले नेपाली राष्ट्रिय फुटबल टिमको प्रदर्शनबाट गौरबको अनुभव भएको बताए । नेपालको खेलबाट सरकारले आशा र भरोषा गरेको उनको भनाई छ । मन्त्री गहतराजले खेलकुद क्षेत्रको बिकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने धारणा राखे । नेपाललाई फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्कनुभएन । नेपालले फाइनलमा स्थान बनाएलगत्तै अलमुताइरीले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने घोषणा गरेका थिए । अलमुताइरी गत चैतमा एक वर्षको लागि नेपालको प्रशिक्षक नियुक्त भएका थिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update