हिमाल दैनिक
आज बलियो टोली इरानसँग खेल्दै नेपाल
Nepal-Vs-Iran
नेपाली राष्ट्रिय यू-२३ टोलीले आज एएफसी यू-२३ एसियन कप छनोटमा पहिलो म्याच खेल्दैछ । नेपालले पहिलो खेलमा बलियो टोली इरान यू–२३ विरुद्ध खेल्न लागेको हो । खेल ताजिकिस्तानको स्थानीय समयअनुसार ४ः४५ बजेदेखि सुरू हुनेछ । छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । आज नेपाललाई इतिहास रच्ने अवसर छ । हालसम्म नेपालले यो प्रतिगितामा जित हात पार्न सकेको छैन । यदि आज इरानलाई हराउन सके नेपालले इतिहास रच्ने छ । दोस्रो खेलमा नेपालले ताजिकिस्तानसँग २८ अक्टोबरमा खेल्ने छ । त्यसपछि नेपालले अन्तिम खेल लेबनानको सामना गर्नेछ । छनोटको यस समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्ने छन् । यस्तै, दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् । नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका छ । इरानसँग खेल्नुअघि नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एसियन कप छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका छन् । प्रि-म्याच कन्फरेन्समा बोल्दै उनले राम्रो नतिजाका लागि टिम तयार रहेको बताएका हुन् । कोच महर्जनले विपक्षी टिम राम्रो भएपनि आफूहरूले नतिजाका लागि सक्दो प्रयास गर्ने बताए । ‘तपाईले हेर्नुभयो भने हाम्रा तीनै विपक्षीहरू गुणस्तरीय टोली छन् । हामीले वास्तविकतालाई स्वीकार गर्नुपर्छ र हामी राम्रो नतिजाको लागि तत्पर छौं । मेरा केटाहरू र म हाम्रो सक्दो प्रयास गर्नेछु,’ उनले भने ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update