हिमाल दैनिक
म्यान-यूको मैदानमा लिभरपुलको गोल वर्षा, सलाहको ह्याट्रिक
1635094465liver
काठमाडौं । लिभरपुलले म्यानचेस्टर युनाईटेडमाथि सानदार जित निकालेको छ। आइतबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले १० खेलाडीमा समेटिएको युनाईटेडमाथि ५-० गोल अन्तरको सानदार जित निकालेको हो। युनाईटेडको घरेलु मैदानमा लिभरपुललाई जिताउन मोहमद सलाहले ह्याट्रिक गरे। थप गोल नेबी केइटा र डिएगो जोटाले गरेका थिए। खेलको पाँचौं मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाएका थिए। १३ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। खेलको ३८ औं मिनेटमा सलाहले गोल गर्दै टिमको अग्रता ३-० को बनाए । पहिलो हाफको इन्जुरी समयमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई पहिलो हाफमै ४-० को सानदार अग्रता दिलाए। दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको युनाइटेडले गोल फर्काउन भने सकेन। खेलको ५० औं मिनेटमा सलाहले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दै टोलीलाई ५-० ले अघि बढाए। ५८ औं मिनेटमा युनाईटेडका क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि मान्यता पाएन। भीएआरको सहायतामा गोल गर्नुअघि रोनाल्डो अफसाइड देखिएका थिए। यस्तै खेलको ६० औं मिनेटमा पाउल पोग्बा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि युनाईटेड १० खेलाडीमा समेटिएको थियो । केइटामाथि डरलाग्दो फउल गरेपछि पोग्बाले रातो कार्ड पाएका हुन् । चोट बोकेपछि केइटाको स्थानमा एलेक्स चेम्बरलिन मैदान प्रवेश गरेका थिए। यस्तै  गएरातिनै भएको  इंग्लिस प्रिमियर लिग फुटबलको अर्को खेलमा टोटेनहम वेस्ट ह्यामसँग १-० गोल अन्तरले पराजित भएको छ। वेस्ट ह्यामको जितमा माइकल एन्टोनियोले निर्णायक गोल गरे ।खेलको ७२ औं मिनेटमा एन्टोनियोले गोल गरेका थिए। गएरातिको जितसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ। लिभरपुलले ९ खेलमा २१ अंक जोडेको छ। युनाईटेड १४ अंक जोडेर सातौं स्थानमा झरेको छ। लिगको शीर्ष स्थानमा रहेको चेल्सीको २२ अंक छ। वेस्ट ह्यामले ९ खेलमा १७ अंक जोडेको छ । वेस्ट ह्याम चौंथो स्थानमा उक्लिएको छ । टोटेनहम १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update