हिमाल दैनिक
मुजिब र राशिदको घातक बलिङ, अफगानिस्तानको कीर्तिमानी विशाल जित
329275
मुजिब उर् रहमानले टि-ट्वान्टी विश्वकप इतिहासकै तथा करियरकै उत्कृस्ट बलिंग गर्दा टि-ट्वान्टी विश्वकपमा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको कीर्तिमानी अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। युएईको शारजाह स्थित शारजाह क्रिकेट स्टेडियममा अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १०.२ ओभरमा सबै विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो। स्कटल्याण्डले बनाएको ६० रन टि-ट्वान्टी विश्वकप इतिहासकै संयुक्तरुपमा चौंथो कम योगफल हो भने स्कटल्याण्डको सबैभन्दा कम योगफल। १३० रनको जित टि-ट्वान्टी विश्वकप इतिहासकै संयुक्त रुपमा दोश्रो ठूलो रन अन्तरको तथा अफगानिस्तानको टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै सबैभन्दा ठूलो रन अन्तरको जित हो। यस अघि अफगानिस्तानको ठूलो रन अन्तरको जित केन्या बिरुद्ध २०१३ मा १०६ रनको थियो। टि-ट्वान्टी विश्वकपको सबैभन्दा ठूलो रन अन्तरको जितको रेकर्ड श्रीलंकाको नाममा छ जसले केन्यालाई २००७ मा १७२ रनले पराजित गरेको थियो। दक्षिण अफ्रीकाले २००९ मा स्कटल्याण्डलाईनै समान १३० रनले पराजित गरेको थियो। लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्डका ओपनर जर्ज मुनसे र कायल कोट्जरले २५ र १० तथा क्रिस ग्रिभ्सले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ५ जना ब्याट्सम्यान खाता समेत नखोली पेभेलियन फर्किए। मुनसे र कोट्जरले २८ रनको ओपनिंग साझेदारी गरेपछि चौंथो ओभरमा मुजिबले ३ विकेट लिंदै अफगानिस्तानलाई खेलमा हावी गराए। त्यसपछि मुजिब र राशिद खानले लगातार विकेट लिंदा स्कटल्याण्ड ब्याट्सम्यानहरु निरिह सावित भए। अफगानिस्तान स्पिनर मुजिब उर् रहमानले टि-ट्वान्टी अन्तर्राष्ट्रिय करियरमै पहिलो पटक ५ विकेट लिने क्रममा ४ ओभरमा २० रन मात्र खर्चिए। टि-ट्वान्टी विश्वकप इतिहासकै यो पाँचौ उत्कृस्ट बलिंग स्पेल हो। यस्तै राशिद खानले २.२ ओभरमा मात्र ९ रन खर्चेर ४ विकेट आफ्नो नाम गरे। नभिन उल हकले १ विकेट लिए। यस अघि टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १९० रन बनाएको थियो। टि-ट्वान्टी विश्वकप इतिहासमा अफगानिस्तानको यो सर्वाधिक टिम योगफल हो भने भने जारी विश्वकपको पनि सर्वाधिक योगफल हो। यस अघि अफगानिस्तानको टि-२० विश्वकपको सर्वाधिक योगफल १८६ रन थियो जुन उसले जिम्बाब्वे बिरुद्ध २०१६ विश्वकपमा बनाएको थियो। अफगानिस्तानको ब्याटिंगमा नजिबुल्लाह जद्रानले सर्वाधिक ५९ रन बनाए जुन क्रममा ३४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। उनले ३० बलमा अर्धशतक पुरा गरे। यस्तै रहमनुल्लाह गुर्बजले ३७ बलमा १ चौका र ४ छक्का मद्दतले ४६ रन, हज्रतुल्लाह जजाईले ३० बलमा ३ छक्का र ३ चौका मद्दतले ४४ रन बनाए। मोहम्मद शाहजादले १५ बलमा २२ तथा मोहम्मद नाबीले ४ बलमा अविजित ११ रन बनाए। अफगानिस्तानको सुरुवात राम्रो रह्यो। ओपनर मोहम्मद शाहजाद र हज्रतुल्लाह जजाईले ५४ रनको ओपनिंग साझेदारी गरे। छैठौं ओभरमा शाहजादलाई सफ्यान सरिफले क्याच आउट पारे। दशौँ ओभरमा आउट हुनु अघि जजाईले दोश्रो विकेटको लागि रहमनुल्लाह गुर्बजसंग २८ रन जोडे। त्यसपछि गुर्बज र नजीबुल्लाह जद्रानले तेश्रो विकेटको लागि ८७ रनको साझेदारी गरे। गुर्बज उन्नाईसौं ओभरमा जोश डेभिबाट क्याच आउट भए। त्यसपछि जद्रान र कप्तान मोहम्मद नाबीले मात्र ९ बलमा २१ रनको साझेदारी गरे। अन्तिम बलमा जद्रानलाई सरिफले क्क्याच आउट पारे। अन्तिम ५ ओभरमा अफगानिस्तानले २ विकेट मात्र गुमाएर ६३ रन बनायो। स्कटल्याण्ड बलर सफ्यान सरिफले २ विकेट , मार्क वाट र जोश डेभिले समान एक-एक विकेट लिए।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update