हिमाल दैनिक
विश्वकपमा भारतको लगातार दोस्रो हार, न्यूजिल्याण्डको शानदार जित
1635698590new
काठमाडौं, कात्तिक १४ आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो खेलमा फराकिलो हार व्यहोरेको छ। दुबईमा भएको आफ्नो दोस्रो खेलमा आइतबार भारत न्युजिल्याण्डसँग ८ विकेटले पराजित भयो। भारतले दिएको १ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्याण्डले मात्र १४ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा डार्य्ल मिचेलले सर्वाधिक ४९ रनको योगदान दिए । कप्तान केन विलियम्सनले अविजित ३३ रन बनाए । ओपनर मार्टिन गुप्टिल ३३ रनमा आउट भए भने कन्भे २ रनमा अभिजित रहे। भारतका लागि जस्प्रित बुम्राहले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । भारतका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका रविन्द्र जडेजाले अबिजित रहदै सर्वाधिक २६ रन बनाए । यस्तै हार्दिक पाड्याले २३ रन बनाउँदा केएल राहुलले १८ रन तथा रोहित शर्माले १४ रनको योगदान गरे । ऋषव पन्तले १२ रन जोड्दा कप्तान विराट कोहली ९ रनमा आउट भए । भारतलाई सस्तैमा समेट्न ट्रेन्ट बोल्टले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चिए । यस्तै इस सोधीले २ तथा टिम साउथी र आदम मिल्नेले १/१ विकेट लिए। प्रतियोगिताको पहिलो खेलमा भारत र न्युजिल्यान्ड दुवै पाकिस्तानसँग पराजित भएका हुन्। भारत १० विकेटले तथा न्युजिल्यान्ड ५ विकेटले पराजित भएको थियो। पाकिस्तानले लगातार ३ जितको साथ सेमीफाइनल यात्रा लगभग सुनिस्चित गरिसकेको छ। भारतलाई हराउँदै न्युजिल्यान्डले पनि सेमीफाइनल पुग्ने सम्भावना कायमै राखेको छ। २ खेलमा समान १ जित र १ हारपछि न्युजिल्यान्ड २ अंकसहित समूह ‘२’ अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ। समान २ अंक सहित नामिबिया नेट रन रेटमा पछि रहँदै चौंथो स्थानमा छ। ३ खेलमा ६ अंक सहित पाकिस्तान पहिलो स्थानमा तथा ३ खेलमा ४ अंक सहित अफगानिस्तान दोस्रो स्थानमा छ। दोस्रो हार पछि भारत अंक विहिन रहँदै पाँचौ स्थानमा छ भने स्कटल्याण्ड छैठौं स्थानमा छ। भारतले आगामी खेल नोभेम्बर ३ तारिख बुधबार अफगानिस्तानसंग तथा न्युजिल्यान्डले सोहि दिन स्कटल्याण्डसंग खेल्नेछ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  २२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update