हिमाल दैनिक
नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको तुलसीलाल स्मृति प्रष्ठिानमा आयोजित कार्यक्रममा महासचिव ईश्वर पोखरेलले महाधिवेशनको प्रतिक चिन्ह लोगो सार्वजनिक गरेका हुन् ।  यसअघि असोजमा सम्पन्न भएको विधान महाधिवेशनमा पार्टीको लोगो सूर्यभित्र हँसिया हथौडा पारित गरिएको थियो । तर, उक्त लोगो अहिले परिवर्तन भएको छ । लोगोमा गैंडाले कम्युनिष्ट पार्टीको झण्डा बोकेको देखाइएको छ । त्यस्तै पार्टी खातामा चाहेको रकम अनलाइनमार्फत जम्मा गर्नका लागि क्यू आर कोड पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा एमालेका महासचिव पोखरेलले सहमतिका साथ सहमतिका साथ नेतृत्व चयन गर्ने बताए । देशभरका सबै स्थानीय अधिवेशन एकैसाथ सहमतिमा भएको भन्दै केन्द्रीय नेतृत्व चयन पनि सहमतिमै हुने उनले बताए। महाधिवेशनमा सहभागीका लागि तीन किसिमको प्रतिनिधि रहने व्यवस्था रहेको जानकारी दिदै पोखरेलले प्रतिनिधि छनोटका लागि शनिवार मुलुकभर एकैपटक निर्वाचन हुने बताए । उनले राष्ट्रिय राजनीतिलाई सहि दिशा दिनका लागि पनि एमालेको महाधिवेशन महत्वपूर्ण हुने धारणा पनि राखे । कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको प्रतिनिधिको व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको बताए। उनले महाधिवेशन पूर्णत डिजिटल हुने जानकारी दिए । एमालेले सहमतिका साथ प्रतिनिधि चयनका लागि पनि आह्वान गरेको छ । महाधिवेशन अघि मंसिर ७ गते मुलुक भर मोटरसाईकल र्याली गरिने भट्टराईले बताए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update