हिमाल दैनिक
प्रदेश २ बाहेक छवटै प्रदेशमा कांग्रेसको गुटगत भिडन्त, को को बन्लात त प्रदेश मुख्खिया?
congress-pradesh-sabhapati
नेपाली कांग्रेसको पूर्वनिर्धारित कार्यतालिका अनुसार, देशका ६ वटै प्रदेशमा पहिलो पटक प्रदेश कार्यसमितिको अधिवेशन प्रक्रिया सुरु भएको छ। नयाँ संविधानले व्यवस्था गरेको संघीयताको संरचना अनुरुप कांग्रेसले पनि आफ्नो विधानमा प्रादेशिक सांगठनिक संरचनाको व्यवस्था गरेपनि पहिलो पटक उक्त व्यवस्थालाई अधिवेशनको माध्यमबाट कार्यान्वयनमा उतार्ने प्रक्रिया थालेको हो। यसका लागि बिहिबारदेखि सुरु भएको प्रदेश अधिवेशनको प्रक्रिया अन्तर्गत प्रदेश २ बाहेक बाँकी ६ वटै प्रदेशमा अधिवेशनको कार्यतालिका अघि बढेको छ। यसरी अधिवेशनको प्रक्रियामार्फत विभिन्न प्रदेशमा प्रदेश स्तरिय कार्यसमिति चयनका लागि पार्टीभित्र रहेको सभापति शेरबहादुर देउवा र अल्पमतमा रहेका रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला लगायतको समूहले गुटगत आधारमा उम्मेदवारी दिएर केन्द्रदेखि वडातहसम्म फैलिएको कांग्रेसको गुटगत विभाजनलाई प्रदेश तहमा पनि संस्थागत गर्न भिड्दैछन्। प्रदेश १ मा सभापति देउवाको साथ र समर्थनमा गत अधिवेशनदेखि तेस्रो धारको रुपमा उदाएका नेता कृष्णप्रसाद सिटौला निकट मानिने झापाका निर्वमान सभापति उद्धव थापा सभापतिको प्रत्यासी बन्दैछन्। उता पौडेल, कोइराला लगायतको समूहले भने केन्द्रीय सदस्य गुरुराज घिमेरेलाई प्रदेश सभापतिको उम्मेदवार बनाएको छ। प्रदेश २ का कतिपय जिल्ला र प्रदेश तहको अधिवेशन सम्पन्न भइनसकेको कारण अधिवेशनको उद्घाटन कार्यक्रम सुरु भएर पनि निर्वाचनको प्रक्रिया सुरु हुन अझै बाँकी छ। तर, संघीय राजधानी समेत रहेको वागमती प्रदेशमा भने सभापति देउवाको समूहले मकवानपुरका पूर्व सभापति तथा प्रदेश सभामा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई उम्मेदवार बनाएको छ। देउवा समूहका उम्मेदवारको विरुद्धमा अल्पमत पक्षले भने नुवाकोटका पूर्व सभापति जगदिश्वरनरसिंह केसीको नेतृत्वमा प्यानलै खडा गरेको छ। देशभरीको महाधिवेशन प्रक्रियामा सभापति देउवासँग सहकार्य गर्दै प्रदेश १ को सभापतिमा आफ्नो पक्षबाट थापालाई उम्मेदवार बनाएका सिटौला निकट मानिने काठमाडौंका सांसद भीमसेनदास प्रधानले वागमती प्रदेश सभापतिको दावी गर्दै उम्मेदवार बनेपछि संस्थापन निकट रहेका सिटौलालाई सकस परेको छ। यद्यपि वागमती प्रदेशका अधिकांश जिल्ला सभापतिहरुको साथ र समर्थन पाएर मैदानमा उत्रिएका युवा नेता बानियाँको कुशल राजनीतिक चातुर्यताका कारण उनी सभापतिका सबैभन्दा बलिया उम्मेदवार बन्न पुगेका छन्। उनीसँगै प्रतिस्पर्धामा उत्रिएका केसी विगत लामो समयदेखि पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला, सुशील कोइराला निकट रहेर राष्ट्रिय राजनीतिमा रजगज गर्दै १३औँ महाधिवेशनमा गुट परिवर्तन गर्दै सभापति देउवाको टिमबाट महामन्त्रीमा पराजित भएका नेता अर्जुननरसिंह केसीका भाई हुन्। जसले अघिल्लो संसदमा आफू प्रत्यक्ष निर्वाचनमार्फत र भाई जगदिशलाई समानुपातिक तर्फबाट सांसद मात्रै बनाएनन् उनी आफू स्वयं समेतले देउवाकै गुटबाट मन्त्री समेत बने। तर, पछिल्लो समय देउवाबाट फाइदा लिनसक्ने सम्भावना कम हुँदैगएपछि पुनः पौडेल, शशांक, प्रकाशमान र शेखरको निकटमा पुगेर देउवाविरुद्धको अभियानलाई तिब्रता दिएका थिए। व्यक्तिगत स्वार्थका आधारमा गट अदलबदल गर्न खप्पिस केसी दाजुभाईको गतिविधिबारे परिचित रहेका वागमती प्रदेशका महाधिवेशन प्रतिनिधिहरुले कसीको तुलनामा युवा नेता बानियाँलाई नै प्रदेशको सभापतिमा मत दिन सक्ने सम्भावना बढेर गएको कतिपय महाधिवेशन प्रतिनिधिहरुले जानकारी दिए। उता गण्डकी प्रदेशमा पनि सभापति देउवा पक्षले केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई प्रदेश सभापतिको उम्मेदवार बनाएपछि गुटगत आधारमा छिन्नभिन्न भई मनखुशी आधारमा ५ जना नेताहरुले उम्मेदवारी घोषणा गरेर समस्यामा परेको अल्पमत पक्षले बिहिबार रातीमात्रै सभापतिको उम्मेदवार टुंगो लगाएको छ। नेता पौडेलकै जिल्लाबाट रघुनाथ पौडेलदेखि महामन्त्री कोइरालाको निर्वाचन क्षेत्र रहेको नवलपुरबाट महेन्द्रध्वज जिसीका अतिरिक्त कास्कीका पूर्वसभापतिहरु शुक्रराज शर्मा, यज्ञबहादुर थापा र नेता देवराज जोेशीले उम्मेदवारी घोषणा गरेपछि सकसमा परेको अल्पमत पक्षले गएरात लेकसाइडको एक होटलमा कार्यक्रम गरी सभापतिको उम्मेदवारमा शुक्रराजलाई अघि सारेको हो। विशेषगरी पुरानो संस्थापन पक्षको पकड रहेको तनहुँ र कास्कीमा नेताहरुबीच आपसी द्वन्द्ध र मनमुटावका कारण सधैँ अल्पमतमा रहँदै आएको देउवा समूहले फाइदा लिन सफल भएपछि अझै पनि शर्माको अवस्था जोशीको भन्दा बलियो हुने वा नहुनेमा अल्पमत पक्ष अझै सशंकित छ। उता पहाडी जिल्लामा बलियो पकड जमाएपनि तराइका जिल्लामा कमजोर अवस्थामा रहेको पौडेल पक्षले रोल्पाका पूर्व सभापति अमरसिंह पुनको नेतृत्वमा पदाधिकारीसहितको प्यानल नै खडा गरेको छ। सभापति देउवा समूहले भने विगत लामो समयदेखि संसदीय राजनीतिमा सक्रिय रहँदै आएका रुपन्देहीका पुराना नेता भरतकुमार शाहको नेतृत्वमा दाङका राजु खनाल र कपिलवस्तुका सुधाकर पाण्डेलाई उपसभापति, वर्दियाका जन्मजय तिमिल्सिना र प्यूठानका खिमानसिंह रायमाझीलाई महामन्त्रीको प्रत्यासी बनाएको छ। उक्त प्रदेशमा जिल्ला सभापतिहरुको संख्या अल्पमत पक्षमा बढी देखिएको भएपनि महाधिवेशन प्रतिनिधिहरुको संख्या संस्थापन पक्षको कमजोर नरहेको मात्र होइन, सभापतिका प्रत्यासीहरुको राजनीतिक व्यक्तित्वकै आधारमा पनि पुन भन्दा शाह नै भारी देखिएका छन्। यसैगरी विगतको तुलनामा अत्याधिक सुधारको अवस्थामा पुगेको कर्णाली प्रदेशमा भने संस्थापन पक्षका महामन्त्री पूर्णबहादुर खड्का र मुख्यमन्त्री जीवनबहादुर शाहीको कारण उक्त प्रदेशमा चर्चित बन्दै आएका राजीवविक्रम शाहलाई पाखा लगाएर भर्खरै गुट बदलेका ललितजंग शाहीलाई उम्मेदवार बनाइएको छ। संख्यात्मक हिसाबले कमजोर रहेको इतरपक्षले भुपेन्द्रजंग शाहीलाई सभापतिको उम्मेदवार बनाएको छ भने कालिकोटकै सदस्य मोतिराज वमले पनि उम्मेदवारी दिएपछि त्रिपक्षिय भिडन्त हुने सम्भवाना बढेको छ। वम उपसभापति विमलेन्द्र निधि निकट रहेको बताइन्छ। महाधिवेशन प्रतिनिधिको संख्यात्मक हिसाबले सहजै जितको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेशमा संस्थापन पक्षका अकांक्षी धेरै देखिएपछि त्यसको सहज व्यवस्थापनका लागि देउवा समूहले केन्द्रीय सदस्य वीरबहादुर बलायरलाई सभापति बन्न जोड दिइरहेका छन्। तर, कमजोर अवस्थामा भएपनि इतर पक्षले कैलालीका नारायणदत्त मिश्रलाई सभापतिको उम्मेदवार बनाएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update