हिमाल दैनिक
गतिरोध अन्त्यको कसरतमा प्रम देउवा, एमाले अध्यक्ष ओलीसँग संसद भवनमा वार्ता जारी
ROS_8510
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसद्को गतिरोध अन्त्यसँगै मुलुकमा राजनीतिक निकास खोज्नेबारे छलफल भएको छ। बहुचर्चित अमेरिकी सहयोग सम्झौता (एमसीसी) प्रस्तावमाथिको छलफलको तयारीमा रहेको सरकारका प्रधानमन्त्री देउवाको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस गर्दै आजको बैठक शुक्रबारलाई सारेलगत्तै संसद भनव नयाँ वानेश्वरमा प्रधानमन्त्री देउवाले आफ्ना केही विश्वासी पात्र लिएर एमाले अध्यक्ष ओली र उनको पार्टीका नेताहरुसँग भेटवार्ता सुरु गरेका हुन्। छलफल अहिले पनि जारी नै रहेको र पछिल्लो समय देउवा र ओलीबीच एक्लाएक्लै वार्ता चलिरहेको छ। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) प्रस्तावको विषयमा सत्तारुढ दलहरुबीच नै सहमति जुट्न नसकेर सरकार अप्ठ्यारो परिस्थितिमा पर्ने देखिँदै गएको बेला प्रधानमन्त्री देउवाले विपक्षी दलका नेताहरुसँग पनि छलफल अघि बढाएका हुन्। अपरान्ह २ बजेपछि सुरु भएको छलफलमा प्रधानमन्त्री देउवासहित सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगनकुमार थापा तथा एमालेका तर्फबाट अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी रहेका छन्। विगत केही समयदेखि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसँग एमसीसी प्रस्ताव सदनबाट अनुमोदन गराउने विषयमा विमति देखिएपछि प्रधानमन्त्री देउवाले विपक्षी दलका नेता ओलीसँग समानान्तर रुपमा वार्ता र सम्वाद गर्दै आइरहेका छन्। उक्त सम्वादका क्रममा देउवाले यसअघि ओली सरकारकै पालामा सदनमा दर्ता भएको एमसीसी प्रस्ताव अनुमोदनमा एमालेको साथ र समर्थन मागेपनि एमाले अध्यक्ष ओलीले आफूहरुले विगत केही समययता उठाउँदै आएका मागहरु जस्तैः तटस्थ भूमिका निर्वाह गर्न असफल सभामुख सापकोटालाई हटाउनेदेखि पार्टीले अनुशासनको कारबाहीको सिफारिस गरेका १४ जना सांसदको पद खारेजी लगायतका विषय सम्बोधनको सर्त राख्दै आएका छन्। तर, देउवाले सकेसम्म गठबन्धनभित्रै रहेका माओवादी र नेकपा एसलाई सहमतिमा ल्याएर सरकारको प्रस्ताव अनुमोदन गराउने र यदी यो रणनीतिले काम नगरेको अवस्थामा गठबन्धन बाहिर गएर ओलीसँग पनि सहमति गर्न सक्ने सम्भावना बढ्दै गइरहेको छ।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update