हिमाल दैनिक
विश्व प्रेस स्वतन्त्रता दिवसः जोसुकै सरकारमा पुगेपनि प्रेसप्रतिको बक्रदृष्टि कायमै
279396180_10225250650845689_9022053912434712041_n
नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवस ‘प्रविधि नियन्त्रित पत्रकारिता’ मुल नाराकासाथ विभिन्न कार्यक्रम गरी मनाएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा खटिँदा दिवंगत भएका पत्रकारप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। त्यस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी प्रतिवेदन सार्वजनिक, फोटो प्रदर्शनी गर्नुका साथै सामाजिक सुरक्षा कोषका बारेमा अन्तरक्रिया आयोजना गरेको थियो। कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रेस स्वतन्त्रता मानव अधिकारको रक्षक रहेको भन्दै पत्रकारको नीतिगत र पेशागत सुरक्षालाई सबैले ध्यान दिनुपर्ने बताए। उनले पत्रकारको सुरक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले बेलाबेलामा सरकारलाई ध्यानाकर्षण गराउँदै आएको भन्दै पत्रकार सुरक्षा कार्यविधि निर्माण गर्न सरोकारवालासंग छलफल गरिरहेको जानकारी दिए। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले जुनसुकै राजनीतिक दल सरकारमा पुगेपनि प्रेस स्वतन्त्रताको सवालमा निर्धक्क हुने अवस्था नरहेको गुनासो गरे। उनले प्रविधिलाई नियमन गर्ने वाहानामा सरकारले प्रेस स्वतन्त्रता खोस्ने कानुन निर्माण गरिरहेको आरोप समेत लगाए। सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले प्रेसले राज्यका सबै अंगलाई प्रभाव पार्ने भन्दै सरकार र नागरिकलाई सकारात्मक दिशातर्फ प्रेरित गर्न भूमिका खेल्नुपर्ने बताए। त्यस्तै महासंघका महासचिव रोसन पुरीले श्रमजीवी पत्रकारका समस्या सम्बोधनमा सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update