हिमाल दैनिक
पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको विषयमाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरुसँग सोधपुछ सक्ने तयारी रहको बताएको हो। समितिका सचिव सुरेन्द्र अर्यालले आइतवार अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सिसिटिभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ गरेको जानकारी दिए। अर्यालका अ नुसार, आजै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थ सचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ। शनिवार समितिले मुल गेटदेखिका सिसिटिभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको थियो। ‘संसदीय छानबिन समितिको छैटौं बैठक आईतवार पनि बसेको छ। पूर्व अर्थमन्त्रीका विषयमा आवश्यक कागज तथा प्रमाण अर्थ मन्त्रालयसँग माग गरे प्रश्चात अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरुसँग सोधपुछ र जानकारी लिने काम निरन्तर चलिरहेको छ,’ समिति सचिव अर्यालले भने। शनिवार पनि भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशहरु र अर्थ मन्त्रालयमा राजश्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरुसँग सोधपुछ गर्ने काम भएको थियो। ‘आइतवार त्यसैको निरन्तरताको रुपमा अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख र अर्थ मन्त्रालयको सिसिटिभीसँग सम्बन्धित काम गर्ने आइटीको इन्जिनियरसँग ८ बजेको बैठकमा छलफल भयो। त्यसपछि बजेट महाशाखा प्रमुखसँग पनि छलफल भयो। अब राजश्व सचिवसँग छलफल तथा सोधपुछ गर्ने कार्यक्रम छ। सचिवसँगको सोधपुछपछि अर्थमन्त्रालयका सचिवसँग छलफल गरेर अर्थ मन्त्रालयका पदाधिकारीहरुसँग छलफल सक्ने तयारी छ,’ उनले भने। सचिव अर्यालले आज नै अर्थ मन्त्रालयसँग सम्बीन्धत विषयका प्रमाण र काजगका लागि आवश्यक सबै अधिकारीहरुसँग छलफल तथा सोधपुछ सकेर समिति अगाडि बढ्ने तयारी रहेको जानकारी दिए। तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो। पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update