हिमाल दैनिक
नुवाकोटका बाढी, पहिरो पीडितलाई राहतसँगै क्षतिग्रस्त संरचना पुननिर्माणमा शीघ्र कदम चाल्न महतको आग्रह
02
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नुवाकोटका प्राकृतिक प्रकोपबाट पीडित र प्रभावित नागरिकलाई तत्काल राहत तथा विपद्बबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र भत्किएका भौतिक संरचनाहरुको पुनर्निर्माण गरी जनजीवन सहज बनाउने कार्यमा शीघ्र कदम चाल्न सरकारसँग माग गरेका छन्। प्रवक्ता महतले बुधबार र बिहिबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गर्दै उक्त क्षेत्रका प्रभावित जनतालाई राहत तथा क्षतिपूर्ति दिलाउनेदेखि उक्त क्षेत्रमा भएको भौतिक संरक्षचनाको क्षतिबाट स्थानीय जनताको जनजीवन थप कष्टकर नबनाउने गरी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन्। साउन २४ गते राति परेको भीषण बर्षाले नुवाकोट क्षेत्र नं १ को तादी खोलामा आएको बाढीले दुप्चेश्वर ३ राउतबेशी, तादी ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्की पुल, पञ्चकन्या २ आप्र र तादि ५ बाहुनवेशी जोड्ने पक्कि पुल, पञ्चकन्या १ को सिमारा फाँट र लिखु ३ सुर्यमति र १ ढिकुरे जोड्ने पक्की पुलहरु क्षतिग्रस्त भएका छन्। पञ्चकन्या र तादि जोड्ने पुलको क्षति अवलोकन गरेपछि उनले साउन २४ गते राति परेको भीषण वर्षाले नुवाकोट क्षेत्र नं १ मा अकल्पनीय विनास निम्त्याएको उल्लेख गर्दै पन्चकन्या र तादी गाउँपालिका जोड्ने क्षतिग्रस्त आप्र पूल तुरुन्त पुननिर्माण गरी आवागमन सुचारु गर्न सडक कार्यालय र स्थानीय तहको समन्वय आवश्यक रहेको बताए। साथै उनले बाढी पहिरो प्रभावित क्षेत्रकालागि थप बजेट उपलब्ध गराउन पनि सरकारसँग माग गरेको उनको सचिवालयले जनाएको छ। आफ्नो गृह जिल्लाको प्राकृतिक प्रकोप पीडितलाई भेट्न पुगेका पूर्वमन्त्री महतले सातबिसेर थप्रे जोड्ने तादी खोलाको पुलको निरीक्षणपछि भने, ‘बाढीले सातबिसे र थप्रे जोड्ने तादी खोलामाथिको पुल पनि क्षतिग्रस्त बनाएको छ। आवागमन सहज बनाउन जतिसक्दो छिटो यसको पुनर्निर्माण गर्नुपर्दछ। यसतर्फ सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु।’ आलो पहिरो नथामिएको र सिमसिम पानी परिरहेको बेलामा बाढी पहिरो प्रभावितसंग प्रत्यक्ष भेट्ने, राहत, क्षतिपूर्ति, पुनस्थापना तथा पुननिर्माणका बारेमा छलफल गर्ने उद्देश्यले बाढी पहिरोग्रस्त क्षेत्रमा प्रवक्ता महत पुगेका हुन्। पहिरोबाट अधिक प्रभावित राउतबेशीको निरीक्षण भ्रमणपछि उनले भने, ‘बाढी पहिरोले दुप्चेश्वर ३ राउतबेशीमा विनासलिला मच्चाएको छ। यो प्राकृतिक प्रकोपबाट पीडित र प्रभावित नागरिकहरुलाई राहत तथा विपद्बबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र भत्किएका भौतिक संरचनाहरुको पुनर्निर्माणको लागि शीघ्र कदम चाल्न म नेपाल सरकारसंग माग गर्दछु।’ प्रवक्ता महतज्यूले बाढीबाट क्षतिग्रस्त तादी खोलामा निर्मित बुद्धभूमि हाइड्रोपावरको पनि निरीक्षण गरेका थिए। उक्त आयोजनाको बाँधस्थल, क्यानल, पावरहाउसमा समेत बाढीले क्षति पुग्दा विद्युत उत्पादन कार्य बन्द भएको बताउँदै उक्त आयोजना सुचारु गर्न आवश्यक नीतिगत र अन्य सहयोगको व्यवस्थाका लागि पनि सरकारसँग अनुरोध गरेका छन्। बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण र प्रभावित नागरिकहरुको भेटपछि महतले स्थानीय जनप्रतिनिधिहरुसंग राहत, पुनस्थापना र पुनर्निर्माणको बारमो छलफल समेत गरेका थिए। उनले स्थानीय जनप्रतिनिधिहरुलाई पहिले पहिरो र बाढीले पुर्याएको क्षतिको यथार्थ विवरण संकलन गर्न, प्रभावितहरुको सूची तयार पार्न र क्षतिग्रस्त भएका संरचनाहरु मध्ये सानातिना र थोरै रकमले हुने मर्मतसंभार पालिकाको बजेटबाट सम्पन्न गर्न सुझाव दिएको जानकारी सचिवालयले दिएको छ। महतले प्राविधिक सहयोग चाहिने र ठूलो रकम चाहिने संरचनाको हकमा प्रदेश सरकार र संघीय सरकारसंग यथोचित बजेट यथाशीघ्र उपलब्ध गराउन आफूले पनि सक्दो सहयोग गर्ने बचन समेत दिएका छन्।
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update