हिमाल दैनिक
नाबालिगलाई जबरजस्ती करणीको आरोपमा पक्राउ परेका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै सन्दीपलाई थप हिरासतमा राख्न बुधबार काठमाडौं जिल्ला अदालतसँग तेस्रो पटक म्याद थपका लागि अनुमति मागेको थियो। अदालतले घटनाको अनुसन्धानका लागि सन्दीपलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको सन्दीपका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए। प्रहरीले सात दिनको म्याद माग गरेपनि अदालतले थप चार दिनको म्याद दिएको र आइतबार प्रहरीलाई प्रतिवेदनसहित उपस्थित हुन भनिएको घिमिरेले बताए। यसअघि जिल्ला अदालत काठमाडौंले सन्दीपमाथि असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको थियो। त्यसपछि असोज २७ गते अदालतले दोस्रो पटक ५ दिन म्याद थप गरेको थियो। गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी असोज २४ गते अदालतमा उपस्थित गराएको थियो। ती नाबालिगले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update