हिमाल दैनिक
एमालेका जालिमको 'जाल' यसरी उधारेर उम्किँदैछन् पर्सा–४ बाट कांग्रेसका रमेश रिजाल
Parsa-4
देशकै मुख्य व्यापारिक नाका वीरगञ्ज रहेको मधेस प्रदेशको पर्सा जिल्लामा आसन्न आम निर्वाचनको माहोल विस्तारै तात्दै छ। प्रतिनिधि सभातर्फ ४ र प्रदेशसभा तर्फ ८ गरी कूल १२ निर्वाचन क्षेत्रका लागि हुन लागेको निर्वाचनको मिति नजिकिँदै जाँदा सबैको ध्यान अहिले पर्सा ४ को प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत हुँदैछ। विभिन्न दल र स्वतन्त्र गरी जम्मा १० जना प्रत्यासीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेपनि उक्त निर्वाचन क्षेत्रमा सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार रमेश रिजाल र एमाले नेतृत्वको गठबन्धनका साझा उम्मेदवार जालिम मियाँ मंसुर्रीले अहिले सबैको ध्यान केन्द्रीत गर्दैछन्। दुई पुस्ता नै कांग्रेसको राजनीतिमा विताएका कांग्रेसका पुराना नेता रमेश रिजाल र एमालेका नवप्रवेशी जालिम मियाँबीच मुख्य प्रतिस्पर्धा हुने बलियो सम्भावना देखिएको उक्त क्षेत्रका मतदाता मात्र होइन, सिंगो पर्सा जिल्लामै राजनीतिमा सामान्य चासो राख्ने व्यक्तिहरुसम्मले पनि रिजाल र मियाँबीचको चुनावी प्रतिस्पर्धालाई एउटा भद्दा मजाकका रुपमा उडाइरहेका छन्। चुनावी माहौलका बारेमा बुझ्न हालै गरिएको स्थलगत भ्रमणका क्रममा पर्साको सदरमुकाम वीरगञ्जका चिया, चमेनागृहदेखि क्षेत्र नं. ४ का मतदातासम्म प्रत्यक्ष भेटघाट र वार्ता गर्दा यसपटक चुनावमा मुख्य प्रतिस्पर्धा रिजाल र मियाँबीच नै भएपनि रिजालको विजयले औपचारिकता पूरा गर्न मात्रै बाँकी रहेको प्रतिक्रिया दिन्छन्। छिपहरमाई, धोबीनी, जिराभवानी, कालिकामाई र ठोरी गाउँपालिकाका अतिरिक्त जगरनाथपुर गाउँपालिकाका ५ वडाका अतिरिक्त पकाहामैनापुर गाउँपालिकाको वडा नं. ५ तथा पोखरीया नगरपालिकाको वडा नं. ३ का ९० हजार ८ सय ५१ मतदाता रहेको उक्त क्षेत्रमा जालिमको जति नकारात्मक चर्चा छ, त्यसको ठिक उल्टो रिजालप्रति मतदाताको सहानुभूति बढ्दो छ। अघिल्लो चुनावमा तत्कालिन मधेस केन्द्रीत दल तमलोपा (एकीकरण पश्चात जनता समाजवादी पार्टी) नेपालका नेता लक्ष्मणलाल कर्णसँग पराजित भएका कांग्रेस नेता रिजालका लागि मंसिर ४ गतेको निर्वाचन यसपटक सबै हिसाबले अनुकूल हुने उनीहरुको दाबी छ। चाहे चर्चित पत्रकार तथा राजनीतिक विश्लेषक चन्द्रकिशोर हुन् वा युवा अभियन्ता कञ्चन झा वा कांग्रेसबाट प्रदेश सभामा समानुपातिक तर्फ उम्मेदवार रहेको राकेश सिंह अथवा जगरनाथपुरका नविन गुप्ता सबैको साझा भाष्य छः कहाँ रमेश रिजाल कहाँ जालिम मियाँ! यसरी रिजालको पक्षमा परिणाम आउन सक्ने अडकलबाजी गर्नेहरुसँग तथ्य र बुँदागत आधार खोज्दा रिजालकै क्षेत्रका स्थानीय बासिन्दाहरु पनि उनीहरुको व्यक्तिगत पृष्ठभूमि र परिचय नै आकाश–जमिनको फरक रहेको बताउँछन्। २००७ सालको संघर्षदेखि पञ्चायतकालसम्म बीपी, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहसँग जेल, नेल र निर्वासित जीवन विताएका स्वतन्त्रता सेनानी मेघराज उपाध्यायका छोरा रिजाल आफैँ पनि ०२९ सालदेखि विद्यार्थी राजनीतिमा लागेर जेल जीवन विताएका नेता हुन्। जबकि जालिम मियाँ त्यतिबेला पञ्चायतकै छत्रछायाँमा बसेर अनेकन विवादस्पद गतिविधिमा संलग्न भएको आरोप स्थानीयबासीहरुको छ। शैक्षिक योग्यतादेखि राजनीतिमा पटक पटक कांग्रेसको केन्द्रीय सदस्य र सांसद समेत बनेका नेता भट्टराईका सच्चा अनुयायी रिजालको पर्सा जिल्ला वा मधेस प्रदेशमा मात्र होइन, कांग्रेस पार्टीमा राष्ट्रिय पहिचान बनाइसकेका व्यक्ति हुन्। विगतका निर्वाचनमा रिजालले जेजस्तो परिणाम भोगेको भएपनि आधुनिक सूचनाप्रविधिको जमानामा गाउँ गाउँका मतदाता समेत बुझ्ने भइसकेको बताउँदै धाेबीनी गाउँपालिका लंगडी चाेकका एक स्थानीयले रिजाल र जालिमबारे भने, ‘कहाँ राजा भोज, कहाँको गंगु तेली!’ ‘जालिमको ठाउँमा यदी अरु कुनै नेता भएको भए रिजालसँगको प्रतिस्पर्धा बेग्लै हुन सक्ने पनि थियो होला तर, जालिम जस्तो विवादस्पद पात्र जसले जगरनाथपुर गाउँपालिका अध्यक्ष हुँदा समेत अनगिन्ती विवादस्पद निर्णयसँगै देशभित्र र बाहिर समेत बदनामी कमायो उसले कसरी रिजाललाई टक्कर दिन्छ? सांसद जितेर गयो भने यो क्षेत्रको विकासका लागि के नै गर्न सक्छ?,’ उनले भने। रिजालको जित्ने आधारमध्ये दोस्रो कुरा भनेको उनको ५ दशक लामो राजनीतिक जीवनको निरन्तरतासँगै उनको निस्कलंक चरित्र र सरल स्वभाव हो। उनी पर्सावासी सबैले चिनेजानेका र सबैले रुचाउने ‘रमेश बाबु’का रुपमा परिचित छन्। तर, जालिमलाई जान्ने, बुझ्ने उनैको गाउँपालिका जगरनाथपुरकै मतदाताले पनि जालिम एक पदलोलुप, अस्थिर र अविश्वसनीय पात्र भएको प्रतिक्रिया दिन्छन्। यसको प्रमाणका रुपमा उनीहरु यसअघि अघिल्लो स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा माओवादीको सदस्यता लिँदै जगरनाथपुर गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि स्थानीय तहको बजेटमा समेत मनपरी गर्दै पदिय दुरुपयोग गरेका समाचारहरु स्थानीयसँग राष्ट्रिय, अन्तर्राष्ट्रिय संचारमाध्यममा अनगिन्ती हेर्न र पढ्न पाइन्छ। गतवर्ष मात्रै गाउँपालिकाकै बजेटमा रजगज गर्दै एक कार्यक्रम आयोजना गरेका थिए जसमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपस्थिति गराएर सांसदको टिकट पाउने आशामा एमाले प्रवेश गरेको घटनालाई स्थानीयबासीहरुले लिने गर्छन्। रिजालको पक्षमा निर्वाचन परिणाम जानसक्ने तेस्रो आधार भनेको, गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उक्त क्षेत्रमा रेहका ३२ वडामध्ये कांग्रेसले १६, एमालेले १० र जसपाले ६ वडामा जितेपनि मतसंख्याको आधारमा कांग्रेसकै बाहुल्यता छ। यसैगरी ६ स्थानीय तहमध्ये दुई गाउँपालिका अध्यक्ष, ६ उपाध्यक्षसहित ५ गाउँपालिकामा बहुमत हाँसिल गरेको कांग्रेसको मत बलियो भएको तथ्याङ्कले नै देखाउँछ। यसका अतिरिक्त रिजाललाई कांग्रेस, माओवादी केन्द्रसँगै लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका जेजति मत छ त्यो गठबन्धनको नाममा एकीकृत हुँदा एमाले र जसपाको मत भन्दा बढी नै हुने तर्क उनीहरुको छ। त्यतिमात्र होइन, अघिल्लो पटकको निर्वाचनमा जसपाका लक्ष्मणलाल कर्ण जसले रिजाललाई पराजित गरेका थिए उनै कर्ण समेत अहिले उक्त क्षेत्र रिजाललाई स–सम्मान छाडिदिए। कांग्रेसको साथ र समर्थनमा कर्ण अहिले पर्सा १ बाट चुनावी मैदानमा छन् र पर्सा ४ मा उनी र उनका समर्थक सबैले रिजाललाई नै साथ दिइरहेका छन्। उता, जालिम एमालेको तर्फबाट चुनावी मैदानमा उत्रिएका भएपनि उनको भर जसपामा छ, जसका प्रदेश सभा सदस्यका उम्मेदवार सिंगासन सा कलवार स्वयं आफ्नो क्षेत्रमा सकसपूर्ण अवस्थाबाट गुज्रिरहेका छन्। यसका अतिरिक्त जालिमले पछिल्लो समय मतदातासमक्ष मुस्लिम मतदाताको कार्ड फालेको स्थानीयबासीहरुको आरोप छ। करिब १७ हजार मुस्लिम मतदातालाई आकर्षित गर्न उनले चलाएको मुस्लिम कार्डले एकातिर करिब ७५ हजार हिन्दुहरुलाई झस्काउन सक्छ भने अर्कोतर्फ जालिमको कार्डले मुस्लिम समुदायमा समेत नकारात्मक असर पार्दैछ। किन भने, जालिमले खेल्न लागेको मुस्लिम कार्डका बाबजूद पनि उक्त क्षेत्रका मुस्लिम मतदाताहरुको साथ र समर्थन रिजाललाई कम देखिँदैन। दिनहुँ उनीको निवासदेखि वडा, वडासम्म घरदैलो कार्यक्रममा मुस्लिम नेता, कार्यकर्ताहरुको बाक्लो उपस्थिती देखिन्छ। दिनभर मतदातामाझ भेटघाट र घरदैलो अनि चुनावी सभा गरेर थकित हुँदै वीरगञ्जको माइस्थानस्थित निवासमा आइपुगेका रिजाललाई कार्तिक २२ गते बिहानै साढे ६ बजे भेट्न जाँदा पत्रकारसमक्ष रिजालले ढुक्क हुँदै भन्दै थिए, यसपालि पर्साका तीनै क्षेत्रमा कांग्रेसले जित्छ। अझ विशेषगरी आफ्नो निर्वाचन क्षेत्रको विषयमा चर्चा गर्दै भने, ‘बिगतमा जेजति कारणले पराजय भोग्नु परेपनि यसपटक मेरो क्षेत्रका मतदाताले असाध्यै लोभलाग्दो साथ, समर्थन र सदभाव देखाएका छन्। संविधान र लोकतन्त्रसँगै मधेसी जनताको अधिकार विरोधी एमाले र यसका उम्मेदवारले जस्तो चाल र जाल बिच्छाएपनि त्यसलाई तोडेर सहजै चुनाव जितिन्छ भन्ने कुरामा म ढुक्क छु।’  
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update