हिमाल दैनिक
क्षेत्राधिकार बाहिरबाट महासचिव गौतमले दिए प्रधानन्यायाधीश जबरालाई सफाई!
cleancheat
संघीय संसदका महासचिव भरतराज गौतमले आफ्नो क्षेत्राधिकार बाहिर गएर प्रधानन्यायाधीश चोेलेन्द्र शम्शेर जबरामाथि लागेको महाभियोग प्रस्ताव निश्कृय भएको भन्दै पत्रचार गरेपछि प्रमुख राजनीतिक दलभित्र खैलाबैला सुरु भएको छ। गतवर्षको फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध २१ बुँदे अभियोग लगाउँदै संसदमा दर्ता भएको महाभियोग प्रस्तावमाथि यसअघिको संसदीय समितिले दिएको सुझावलाई बेवास्ता गर्दै महासचिव गौतमले बुधबार क्लिन चिट दिएका हुन्। यसअघिको संसदमा महाभियोग प्रस्ताव छानविन तथा सिफारिस समितिले जबरासँगको सवाल/जवाफ पश्चात सदनलाई ९ बुँदे अभियोग लगाउँदै दुई बुँदे सुझावसहितको प्रतिवेदन दिएको थियो। उक्त प्रतिवेदनमाथि सदनले छलफल र निर्णय गर्न नभ्याउँदै संसद अधिवेशन अन्त्य गरी ताजा जनादेशका लागि मुलुक गएपछि उक्त प्रतिवेदनको सुझाव अनुसार, जबराको सवालमा भ्रष्टाचार र अकुत सम्पत्तिको विषय पनि जोडिएको भन्दै यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुद्धिकरण विभागले थप अनुसन्धान गर्न आवश्यक रहेको सुझाव दिइएको पनि थियो। साथै समितिले महाभियोग प्रस्तावलाई तत्काल टुंगो लगाउन सम्भव नभएकोले नयाँ आउने संसदको पहिलो बैठकमा पेश गर्ने र त्यसले हेर्नेगरी थन्क्याइएकोमा महासचिव गौतमले संसदको निर्वाचन सकिएर नयाँ संसद आउनु केही हप्ता अघि जबरालाई सफाई दिने पत्र पठाएपछि उनको नियतप्रति सत्तारुढ दलकै नेताले आपत्ति प्रकट गरेका छन्। जबराको विषयमा महासचिव गौतमको पत्रबारे जानकारी पाएपछि नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व सांसद मीनबहादुर विश्वकर्माले हिमाल दैनिकसँग भने, ‘महासचिव गौतमले संविधान, संसदीय विधि, अभ्यास बाहिर गएर पत्र लेख्नु आपत्तिजनक छ।’ प्रतिनिधि सभा सदस्यको निर्वाचन सकिएर नयाँ संसद आउनु १५ दिन अघि एकाएक जबरालाई सुफाई पत्र पठाएकोमा रोष प्रकट गर्दै विश्वकर्माले भने, ‘यदी उहाँलाई सफाई नै दिनु थियो भने, संसद अधिवेशन अन्त्य भएलगत्तै दिनु पथ्र्यो होला। तर, महाभियोग सिफारिस समितिले यो विषयमा आगामी संसदको पहिलो बैठकमा पेश गरी टुंगो लगाउने भनिसकेको अवस्थामा भोलि आउने संसदले यो प्रस्ताव खोजेको खण्डमा महासचिवले के गर्नु हुन्छ र कसरी चित्त बुझाउनु हुन्छ? हामीले बुझ्न सकिरहेका छैनौँ।’ यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय सदस्यहरुले पनि यसबारे आफूहरुलाई कुनै जानकारी नभएको भन्दै महासचिवको पत्रबारे आश्चर्य प्रकट गरे। विवादस्पद छवि भएका प्रधानन्यायाधीश जबरा महासचिवको सफाई पत्र पाएपछि आजै सर्वोच्च अदालतमा हाँजिर गर्न जाने तयारीमा छन्। उनी उमेरहदका कारण मंसिर २७ गतेबाट अवकास लिँदैछन्।
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update