हिमाल दैनिक
जनकपुरबाट अयोध्यातर्फ शिला प्रस्थान
शिला
भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधामबाट जनकपुरधाम ल्याइएका देवशीला सोमबार बिहान अयोध्या पठाइएको छ। मिथिला परम्परा अनुसार, शिलासँगै जनकपुरधामका तर्फबाट मिठाइ, लत्ताकपडा लगायतका कोसेलीसहित पाहुर अयोध्या पठाइएको छ। जनकपुरबाट भारतको मुजफ्फरपुर–गोरखपुर हुँदै दुवै शिला १८ माघमा अयोध्या पुग्नेछ। यसअघि आइतबार साँझ धार्मिक विधि अनुसार नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र उनकी पत्नी अनामिका निधिले दुबै देवशीलाको पूजा गरेका थिए। शिला बिदाई कार्यक्रममा जानकी मन्दिर प्राङ्गणमा ठूलो संख्यामा स्थानीयको उपस्थिति रहेको थियो। शिलाका साथ कांग्रेस नेता निधि, जानकी मन्दिरका महत्थ रामतपेश्वर दास, राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलगायत जनकपुरधामबाट सयौं सहभागी छन्। जनकपुरबाट प्रस्थान गरेको शिला सोमबार मुजफ्फर पुर्याएपछि त्यँहा स्थानीयले स्वागत तथा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ। मंगलबार बिहान दुबै शिलासहितको टिम गोरखपुर प्रस्थान गर्ने कार्यक्रम छ। गोरखपुरबाट बुधबार बिहान अयोध्या पुगेपछि नेपालका तर्फबाट कांग्रेस नेता निधिले शिला हस्तान्तरण गर्ने कार्यक्रम छ। शिला पठाउने औपचारिक निर्णयपछि कालीगण्डकीमा माघ १ गते क्षमा पूजा गरिएको थियो। म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला क्रेनमार्फत निकालिएको थियो। १८ र १६ मेट्रिकटन तौल भएका सात फिट लम्बाइ पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई शिला छन्। गत साउनमा भारत भ्रमणमा गएका कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य निधिले अयोध्या राममन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र, श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत राय र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा निधिले अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा राख्ने धातुको धनुष नेपालमै निर्माण गर्ने र रामको प्रतिमा बनाउन आवश्यक शिला कालीगण्डकीबाट ल्याउने प्रस्ताव राखेका थिए। जनकपुरधामस्थित जानकी मन्दिरका तर्फबाट धनुष राख्ने र रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने निधिको प्रस्तावमा भारतीय पक्ष सहमत भएको थियो। यसपछि नेपाल फर्किएका निधिले नेपाल सरकारलाई भारतीय पक्ष नेपालका दुवै प्रस्तावमा सहमति भएको जानकारी दिएका थिए। रामको मूर्ति निर्माणका लागि कालीगण्डकीको शिला उपलब्ध गराइदिन अयोध्यास्थित राम मन्दिर निर्माण समितिबाट प्रस्ताव आएपछि त्यसका लागि सहजीकरण गरेका नेता निधिले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेतासँग कुराकानी गरेका थिए। त्यसपछि पुस ३ गते बसेको तत्कालीन प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले रामको प्रतिमा निर्माणका लागि प्रयोग गरिने शालिग्राम शिलाको खोजी गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update