हिमाल दैनिक
नेता भण्डारीको थप उपचारका लागि मुम्बई लैजान कीर्तिपुरबाट हिँडाइयो
Chandra Bhandari
बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका भारत लान अस्पतालबाट पठाइएको छ। श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि पठाउने व्यवस्था भएसँगै भर्खर २ः५० बजे अपरान्ह कीर्तिपुस्थित अस्पतालबाट निकालिएको छ। उनलाई अब सोझै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याएपछि एयर एम्बुलेन्सबाट भारतको मुम्बई लगिँदैछ। हिजो राति घाइते भएका नेता डा भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको थियो। अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उहाँको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो। बुद्धनगरस्थित निवासमा बुधबार साँझ ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन्। आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ। नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update