हिमाल दैनिक
नेपालको लगातार दोस्रो जित, स्कटल्याण्डलाई ३ विकेटले पराजित गर्न सफल
FpKbKgOaYAEMkyl
काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२को त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ। त्रिभुवन विश्वविद्यालयस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले लिग–२ को विजेता बनिसकेकी स्कटल्याण्डलाई ३ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकाल्न सफल भएको हो। सुरुमा व्याटिङ गरेको स्कटल्याण्डले ९ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो। स्कटल्याण्डले दिएको २७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पार गर्यो। नेपालका लागि ओपनर व्याट्सम्यान कुशल भुर्तेलले १६ रन बनाए। अर्का ओपनर आसिफ शेखले ९ रन बनाएर पेभेलियनको बाटो लिएका थिए। ज्ञानेन्द्र मल्ल ४ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेलले ६ रन मात्र बनाउन सफल भए। त्यसपछि मैदानमा उत्रिएका कुशल मल्लले ८१ रन बनाएको गतिलो पारी खेले भने उनलाई दिपेन्द्र सिंह ऐरी साथ दिए। नेपालको जितका लागि मल्ल र ऐरीको व्याटिङ नै जितका लागि आधार बन्यो। ऐरीले अविजित ८५ रन बनाए। त्यस्तै गुल्सन झाले १७ रन बनाउँदा सोमपाल कामीले २४ रन बनाए। त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो। स्कटल्याण्डका लागि माईकल लिस्कले १ सय ७ रनको शतकीय ईनिङ खेले। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने कुशल मल्लले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १–१ विकेट लिएका थिए। स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ। नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ। केही दिनअघि पनि नेपालले यही मैदानमा नामिवियाले दिएको २८६ रनको चुनौती पार गर्दै नामिवियालाई २ विकेट पराजित गरेको थियो।
प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update