हिमाल दैनिक
नेपालले पपुवा न्यूगिनीलाई दियो २९८ रनको विशाल लक्ष्य
FqwhQUxWAAAE7OZ
घरेलु मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग(२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई जितका लागि २९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै २९७ रनको योगफल बनायो । यो नेपालले एक दिवसीय खेलमा बनाएको हालसम्मकै उच्च स्कोर हो । नेपालले यसअघि २८७ रन बनाएको थियो । नेपालका सुरुआती व्याट्सम्यान आशिफ शेखले सर्वाधिक ११० रनको योगदान दिए । उनले ११० बल खेल्दै उनले दुई छक्का र १२ चौका प्रहार गरे । आशिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो एक दिवसीय शतक हो । आशिफ नेपालबाट एकदिवसीयमा शतक प्रहार गर्ने पाँचौ नम्बरका खेलाडी बने । यसअघि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए । त्यस्तै आसिफले एकदिवसीय आफनो करिअरको एक हजार रनसमेत पूरा गरेका छन् । एक हजार रन पूरा गर्ने नेपालका उनी दोस्रो खेलाडी बने । यसअअघि नेपालका रोहित पौडेलले एकदिवसीयमा एक हजार रन पूरा गरेका थिए । आजको खेलमा सुरुआती अर्का व्याट्सम्यान कुशल भुर्तेलले ४५ रनको योगदान दिए । उनले ५६ बलमा ६ चौकासहित ४५ रन जोडे । आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरेका थिए । रोहित पौडेल ३९ बलमा २ चौका र १ छक्कासहित ३० रनमा क्याच आउट भए । त्यस्तै ज्ञानेन्द्र मल्लले ११ रन जोडे भने दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । यसैगरी भिम सार्कीले ४४ रन, आरिफ शेखले १५, करण केसीले आठ, सन्दीप लामिछानेले सात, तथा सोमपाल कामीले चार रन जोडे । बलिङतर्फ पपुवा न्यूगिनीका सेमो कमिया एक्लैले पाँच विकेट लिए भने राइली हेकुरेले तीन विकेट र एलियो नाओले एक विकेट लिए झारे । रासस
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update