हिमाल दैनिक
आईसीसी लिग–२: सन्दिपको बलिङ र आसिफको व्याटिङले जितायो नेपाललाई
FqxfnaLWYAEqxiC
आईसीसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले सहज जीत निकालेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ५२ रनले पराजित गरेको हो। नेपालले दिएको २ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ४५ रन मात्र बनाउन सक्यो। पीएनजीका लागि नर्मन भानुवाले ६० रनको अर्धशतकीय ईनिङ खेले। ओपनर टोनी उराले ५० रनको अर्धशतकीय ईनिङ खेले। कप्तान असद भाला ४२ रन बनाउँदै आउट भए। नेपालका लागि सन्दीप लामिछानेले ४ तथा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए। कुशल मल्लले १ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन बनाएको थियो। नेपालले एकदिवसीय अन्तराष्ट्रिय खेलमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो। नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १ सय १० रन बनाए। उनले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका हुन् । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । यि दुई बीच १ सय १० रनको साझेदारी भएको थियो । भीम सार्की ४४ रन र कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट भए भने ज्ञानेन्द्र मल्लले ११ रन बनाए। सिरिज अन्तर्गत फागुन २८ गते यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ भने फागुन २९ मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ। विश्वकप लिग टूको अन्तिम खेलमा चैत २ गते नेपालले यूएईसँग खेल्नेछ।
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update