हिमाल दैनिक
विजयी डा वाग्लेलाई प्रतिस्पर्धी भट्टराईको बधाई
तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका डा स्वर्णिम वाग्लेलाई मङ्गलबार बधाई तथा शुभकामना दिँदै प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराई । तस्बिरः कृष्ण न्यौपाने/रासस

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेलाई प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिनुभएको छ ।

आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्ले विजयी हुनुभएपछि भट्टराईले उहाँलाई बधाई दिनुभएको हो ।

कांग्रेसका भट्टराईले भन्नुभयो, “चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिस्पर्धा रह्यो । र, संयोगले तपाईँ निर्वाचित हुनुभयो । मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईँले सक्नुभयो ।” उहाँले यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा आफूप्रतिको विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब डा वाग्लेको अभिभारा बन्न पुगेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रूपमा निरन्तर खटेको हुँ । अब पनि खटिरहनेछु । अनि तपाईँले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ ।” निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update