हिमाल दैनिक
सनसनीपूर्ण खेलमा यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

एसिसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ।

मंगलबार त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेटस् (यूएई)लाई सात विकेटले पराजित गर्दै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कपमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो।

नेपालले एसिया कपमा समूह ‘ए’मा रहेका भारत र पाकिस्तानसँग खेल्नेछ। एसिया कपको समूह ‘बी’ मा अफगानिस्तान, श्रीलङ्का र बङ्गलादेश छन्।

प्रतिकूल मौसमका कारण सोमबारका लागि तय गरिएको फाइनल खेलकोे सुरुवातमा टस जितेर फिल्डिङ रोजेको नेपालले यूएईलाई हिँजो ५० ओभरको खेलमा २७.३ ओभरमा ९ विकेट लिँदै १०६ रनमा सिमित गरेको थियो। वर्षातका कारण रोखिएको खेल डकवर्थ लुइस र सुपरओपरमा जाने स्थिति समेत नबनेपछि एम्पायरहरुले हिँजोको खेललाई मंगलबार पनि पुनः सोही स्थ्तििमा निरन्तरता दिएका थिए।
आज बिहान ९ बजेदेखि पुनः सोमबारकै खेललाई निरन्तरता दिएकोमा यूएईका खेलाडीले सोमबारको रनमा जम्मा ११ रन थपेर नेपाललाई ११८ रनको सामान्य लक्ष्य दिएका थिए।
कुल एक सय १८ रनको लक्ष्य पछ्याएको नेपालको सुरुआती व्याटस्म्यान सस्तैमा आउट भएपछि नेपालको स्थिति पनि खराब देखिएको थियो।

सुरुकै ओभरमा विकेट गुमाएको नेपालले आठ ओभर खेल्दा नखेल्दै अघिल्लो क्रमका तीन विकेट गुमाउन पुग्यो।
ओपनर कुशल भुर्तेल एक, आशिफ शेख आठ तथा कप्तान रोहितकुमार पौडेल मात्र एक रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो।

सङ्कटमा परेको नेपालको पारीलाई गुलसन झा र भीम सार्कीले अपत्यारिलो ढंगले सम्हाले। झा र सार्कीले ९६ रनको साझेदारी गर्दै ३०.३ ओभरमा लक्ष्य हाँसिल गरे।
नेपाली युवा समर्थकहरुको बाक्लो उपस्थितिमा रोमाञ्चक बनेको खेलमा झाले ६७ र सार्कीले ३६ रनको योगदान दिए।

यस क्रममा झाले ८४ बल खेल्दै छ छक्का र तीन चौका प्रहार गरे भने, झालाई दर्बिलो पार्टनरसिप दिएका सार्कीले ७२ बल खेल्ने क्रममा चार चौका हाने।

बलिङतर्फ युएईका लागि रोहन मुस्ताफाले दुई तथा आयान अफ्जल खानले एक विकेट लिए।

यसअघि सोमबार टस हारेर पहिला ब्याटिङ गरेको युएईले सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो। उसका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्काको सहयोगमा ४६ रन बनाएका थिए । ओपनर आर्यान लाक्राले २८ बलमा १३ रन बनाए।

नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए। त्यस्तै करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई तथा गुलसन झा र सोमपाल कामीले समान एक–एक विकेट लिएका थिए।

नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलोपटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update