हिमाल दैनिक
एसीसी मेन्स प्रिमियर कप विजेता टिमलाई नगद पुरस्कार दिने सरकारको घोषणा

नेपाल सरकारले एसीसी मेन्स प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ६–६ लाख रुपैयाँका दरले नगद पुरस्कार दिने निर्णय गरेको छ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रतियोगीतामा बिजयी भएको नेपाली टोलीका प्रत्येक खेलाडी र प्रशिक्षकलाई जनही ६–६ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै टीम अफिसियललाई जनही ३ लाखका दरले पुरस्कार प्रदान गर्ने निर्णय गरिएको उनले बताइन्।

प्रतिकूल मौसमका कारण सोमबार र मंगलबार गरी दुई दिनमा सम्पन्न एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै आगामी सेप्टेम्बरमा हुने भनिएको एसीसी कप खेलमा भारत, पाकिस्तान जस्ता मुलुकका टिमसँग खेल्ने अवसर सुरक्षित गरेको थियो।

बैठकले कीर्तिपुरको टियु क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक रकमको व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गर्ने निर्णय भएको जानकारी पनि उनले दिइन्।

 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update