हिमाल दैनिक
पूर्व मन्त्री खाणलाई ४ दिन हिरासतमा राखेरै अनुसन्धान अघि बढाउन अदालतको अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको विषयमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा परेको पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान कार्य अघि बढाउन अदालतले अनुमति दिएको छ।

बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेका खाणलाई अपरान्ह सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा म्याद थपको अनुमतिका लागि उपस्थित गराइएकोमा अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

नेपाली नागरिकलाई भुटानी शरणार्थीको कागजात बनाएर तेस्रो मुलुकमा पठाउने भन्दै संगठित अपराधिक गिरोहले विभिन्न जिल्लाका नागरिकसँग रकम असुली गरेको समाचार सार्वजनिक भएलगत्तै पक्राउ परेका आरोपितहरुको बयानका आधारमा प्रहरीले यसअघि पूर्व गृहसचिव टेकनारायण पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ।

प्रहरी स्रोतका अनुसार गृहमन्त्रीका रुपमा खाण रहँदा गृहसचिवको रुपमा कार्यरत पाण्डेले दिएको वयानका आधारमा उक्त गैरकानूनी क्रियाकलापमा पूर्व मन्त्री खाणसँगै उनका तत्कालिन स्वकिय सचिव नरेन्द्र केसी पनि संलग्न रहेको आशंक गर्दै आजै प्रहरीले खाण र केसी दुबैलाई पक्राउ गरी टेकुस्थित जिल्ला प्रहरी परिसरमा राखेको छ।

यसअघि उक्त विवादस्पद मुद्दामा तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत १२ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ। यसका बाबजूद प्रहरीले पक्राउ पूर्जी जारी गरेको जानकारी पाएपछि गृहजिल्ला अर्घाखाँचीबाट काठमार्डौ हिँडेका नेकपा एमाले सचिव टोपबहादुर रायमाझी फरार अवस्थामा रहेका छन्।

उनको विषमया चौतर्फी आलोचना भएपछि नेकपा एमालेले बुधबार मात्रै उनलाई प्रहरी अनुसन्धानमा सहयोग गर्न निर्देशनसँगै पार्टी सदस्यता निलम्बनको घोषणा गरेको छ।

पार्टी निर्णय पश्चात रायमाझीले आफू अस्वस्थ भएको जानकारी संसद सचिवालयलाई दिँदै आफू आजै साँझसम्म प्रहरीसमक्ष आत्मसमर्पण गर्ने जानकारी सामाजिक सञ्जालबाट दिएका छन्।

 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update