Tihar Banner
Tihar Banner
हिमाल दैनिक
सभापति देउवाद्वारा  दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य, पार्टीका पूर्व आमन्त्रित केन्द्रीय सदस्य पुरुषोत्तम बस्नेतको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

    नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, कांग्रेसका धरोहर बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान ४ बजे सिफल हाइट, काठमाडौँमा निधन भएको हो ।

    सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गर्नुभएको छ । लेखक तथा साहित्यकार बस्नेतको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै सभापति देउवाले कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पु¥याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताउनुभएको छ । उहाँको निधनबाट कांग्रेसले बहुआयमिक व्यक्तित्वलाई गुमाएको जनाएको छ ।
 
    नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका पूर्वसभापतिसमेत रहनुभएका बस्नेत हाल जननायक बिपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष हुनुहुन्थ्यो । राजनीतिकर्मी, साहित्यकार, सम्पादक र समाजसेवी बस्नेत बहुआयमिक व्यक्तित्वको धनी
हुनुहुन्थ्यो ।
 
    लामो समयसम्म कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ प्रकाशन गर्नुभएका बस्नेतले ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ भाग एक र दुई जस्ता महत्वपूर्ण कृति लेख्नुभएको छ । गोरखापत्र संस्थानको पूर्व कार्यकारी अध्यक्ष समेत रहनुभएका बस्नेतले धेरै साहित्यिक पत्रपत्रिकाको सम्पादन गर्नुभएको थियो । लामो समयसम्म कांग्रेसको प्रेस प्रमुख र पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेर उहाँले कुशलतापूर्वक कार्य गर्नुभएको थियो ।
 
     कांग्रेसको इतिहासका जानकार बस्नेतले राजनीतिक जीवन यात्राका विभिन्न समयमा नौ वर्ष जेल जीवनसमेत व्यतित गर्नुभएको थियो । उहाँ अत्यन्त शालिन, सादगी र सरल व्यक्तित्वको रुपमा परिचित हुनुहुन्थ्यो । नेपालको राजनीतिक एवं सामाजिक रुपान्तरणको अभियानमा संलग्न रहँदै गर्दा अविवाहित रहेर सामेल हुनुभयो । उहाँको निधनबाट कांग्रेसले एक असल, अनुभवी, इतिहासका जानकार व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको जनाएको छ ।
 
    आजै अपराह्न २ बजे उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी कार्यालयले जनाएको छ । स्व बस्नेतप्रति सम्मान प्रकट गर्दै बैशाख २९, ३० र ३१ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यसैगरी वैशाख ३१ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने कार्यक्रम निर्धारण गरिएको छ ।

Friday, May 12