हिमाल दैनिक
पक्राउ परेका एमाले सचिव रायमाझीलाई अदालतमा उपस्थित गराइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएलगत्तै फरार भएका नेकपा एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आइतबार पक्राउ परेलगत्तै सोमबार प्रहरीले म्याद थपको तयारी गरिरहेको छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचिमा समावेश गर्दै उनीहरुलाई तेस्रो मुलुकमा पनुस्र्थापना गर्ने नाउँमा ठगि गरेको आरोपमा अदालतबाट वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो।

उक्त प्रकरणमा प्रहरीको नियन्त्रणमा रहेका रायमाझीलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

रायमाझीको नाम पनि ठगि प्रकरणमा मुछिएपछि सुरुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बचाउको असफल प्रयास गरेपनि त्यसको चौतर्फी आलोचना भएपछि एमाले पार्टीले रायमाझीलाई पार्टीको सचिव पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो।

यस प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक, कांग्रेसका पूर्वसभासद् आङ्टावा शेर्पा तथा पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेकामा तीनै जना हालसम्म फरार रहेकाले सम्भावित ठाउँमा खोजतलासलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १३ जना पक्राउ परिसकेका छन्। जसमध्ये रायमाझी बाहेक १२ जनालाई आइतबार मात्रै अदालतले थप चार दिन हिरासतमा राखी अनुसन्धान कार्य गर्न अनुमति दिइसकेको छ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update