हिमाल दैनिक
रास्वपा सांसद खनालले प्रम दाहाल विमानको भैँसी चढेर आए भनेपछि सदनमा हंगामा

प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई प्रश्नोत्तर गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले असंसदीय पदावली प्रयोग गरेपछि सदनमा होहल्ला मच्चिएको छ।

सोमबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले हालै सम्पन्न भारत भ्रमणको विषयमा जानकारी दिएलगत्तै संसदीय नियमावली बमोजिम सभामुखले सांसदहरुलाई प्रतिप्रश्न गर्न समय दिएपछि रास्वपा सांसद खनालले प्रधानमन्त्रीले भारत भ्रमणबाट नेपाल आउँदै आफैँले उद्घाटन गरेको पोखरा विमानस्थलमा विमान चढेर आउनुहोला भनेको त भैँसी चढेर पो आउनु भएछ भनेपछि सत्तापक्षका सांसदले आपत्ति जनाए।

रास्वपाको सांसदले व्यक्त गरेको पदावली माओवादी प्रमुख सचेतक हितराज पाण्डेले नियमावली बमोजिम रेकर्डबाट हटाउन माग गरेपछि एमालेका रघुजी पन्त, सूर्य थापा लगायतका सांसदले प्रतिवाद गरे।

बैठकमा सत्तापक्ष सांसदहरुले प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भन्ने शव्द रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए भने प्रतिपक्षी सांसदहरुले प्रधानमन्त्रीले पनि सम्बोधनका क्रममा आफु भैसि चढेको प्रसंग निकालेको भन्दै प्रधानमन्त्रीको शव्द पनि रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए।

सो क्रममा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच भनाभन भएको थियो भने प्रतिपक्षी सांसदहरुले उठेर विरोध जनाएका थिए।

सांसदको विरोधपछि संसद बैठक नै अवरुद्ध हुने स्थितिमा सभामुख देवराज घिमिरेले नियमावली बमोजिम भैँसी चढेर आएको भन्ने शव्दलाई रेकर्डबाट हटाउन निर्देशन दिएपछि वातावरण सामान्यकरण बनेपछि पुनः प्रश्नोत्तर प्रक्रिया अघि बढेको छ।

 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update