हिमाल दैनिक
बजेट निर्माण प्रक्रियामा पूर्व नासुको प्रवेश सम्बन्धि विवादले प्रतिनिधि सभाको बैठक प्रभावित

प्रतिनिधि सभाको मंगलबार बिहान ११ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गर्दै अपरान्ह साढे १ बजेका लागि सरेको छ।

सरकारका अर्थमन्त्री प्रकाशशरण महतले हालै पेश गरेको आगामी आर्थिक वर्षको आय÷व्ययको अनुमानित प्रस्ताव (बजेट)माथि सोमबारबाट सुरु भएको सैद्धान्तिक छलफलको कार्यसूचिसहित बोलाइएको बैठकपूर्व नेकपा एमालेसहितका विपक्षी दलले प्रस्तावित बजेट निर्माणको प्रक्रियामा अनाधिकृत व्यक्तिको संलग्नता गराइएको भन्दै सदन अवरोध गर्ने अडान लिएपछि सभामुख देवराज घिमिरेले बिहान ११ बजेको बैठक नियमावली बमोजिम १ः३० बजेका लागि सारेका हुन्।

अर्थमन्त्रालयले गोप्य ढंगले तयार पार्ने बजेट निर्माणको प्रक्रियामा पूर्व नायव सुब्बा रामकृष्ण श्रेष्ठलाई संलग्न गराएर करको दर हेरफेर गर्नेदेखि केही निश्चित व्यापारिक घरानालाई पोस्ने र राज्यलाई नोक्सान पुर्याउने काम भएको आरोप लगाउँदै एमालेसहित विपक्षी दलले संसदीय छानविन समिति गठनको माग गर्दै अन्यथा आजको बैठक चल्न नदिने अडान लिएपछि सभामुखले बैठक संचालन गर्न नसकेका हुन्।

गत मंसिरमा सम्पन्न निर्वाचन लगत्तै पुस ११ गते नयाँ सत्ता समिकरण बनाएर सरकारमा सहभागी भएका एमाले, रास्वपा र राप्रपा फागुन २५ को राष्ट्रपति निर्वाचनको प्रक्रियाबाट सत्ताबाहिर पुगेपछि संसदभित्र विभिन्न विषयलाई लिएर सदन संचालनमा व्यवधान खडा गर्दै आइरहेका छन्।

यसैक्रममा आइतबारदेखि बजेटमाथिको सामान्य छलफल सुरु गर्ने तयारीमा बोलाइएको बैठकमा आइतबार र सोमबार विपक्षी दलका सदस्यहरुले विरोध जनाएपछि छलफलको प्रक्रिया प्रभावित भएको थियो।

तर, सोमबारबाट सुरु भएको छलफलका क्रममा बजेट निर्माणको प्रक्रियामा अर्थमन्त्रालयले पूर्व नायव सुब्बा श्रेष्ठलाई सहभागी गराएको विषयमा प्रश्न उठाएपछि आजको बैठक पनि प्रभावित हुन पुगेको हो।

उता अर्थमन्त्रालयले भने श्रेष्ठको प्राविधिक ज्ञान र सिपका कारण बजेट टाइप गर्ने कार्यका लागि गत फागुनदेखि नै करारमा नियुक्त गरि काममा लगाइएको स्पष्टिकरण दिएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update