हिमाल दैनिक
बजेट निर्माणको प्रक्रियामा अनाधिकृत व्यक्तिको संलग्नताबारे विपक्षी सांसदद्वारा स्पष्टिकरण माग

प्रतिनिधि सभाको मंगलबारको बैठक पूर्व निर्धारित समयभन्दा तीन घण्टा ढिलोगरी बसेको छ।

बिहान ११ बजेका लागि तय गरिएको बैठकपूर्व विपक्षी दलले बजेट निर्माणको प्रक्रियामा सेवा निवृत्त भन्सार विभागका नासु रामकृष्ण श्रेष्ठको संलग्नता र उनको कारण करको दरमा भएको हेरफेरको विषयलाई संसदीय छानविन समितिको माग राखेपछि बैठक साढे २ घण्टा पर सरेको थियो।

अपरान्ह २ बजे बसेको बैठक सुरुवात हुनासाथ विपक्षी दलका सदस्यहरु उभिएर विरोध जनाए।
 
त्यसपछि सभामुख देवराज घिमिरेले नेकपा एमालेका प्रमुख सचेत पदम गिरीलाई बोल्न समय दिए।

बैठकमा बोल्दै उनले विगत केही वर्षदेखि हरेक पटक बजेट निर्माणको प्रक्रियामा अनाधिकृत व्यक्तिको प्रवेश गराएर करका दर हेरफेर गरिएको र मन्त्रालयमा राखिएको सिसि क्यामेराको तार काटिएको भन्ने गरिएको विषय उठाए।

उनले त्यही घटनाको पुनरावृत्ति हुने गरी यसपटक पनि विचौलियाको संलग्नतामा करका दर हेरफेर गरिएको र करको दर बाहिर चुहाएको समाचार आएको छ भन्दैै यही क्रममा बजेट आउनु अघि ११ सय भन्दा बढी विद्युतीय गाडीहरु नेपाल भित्र्याएको घटनाले करिब ९३ करोड रुपैयाँ राजस्व राज्यलाई घाटा भएको कुरा आएको कुरा गम्भीर घटना भएको बताए।

‘यो घटनाको विषयमा जनताले जानकारी पाउनु पर्छ र यसबारे अर्थमन्त्रीले जवाफ दिनुपर्छ नभए संसदीय छानविन समिति गठन गरिनु पर्छ,’ उनले भने।

रास्वपा सांसद स्वर्णिम वाग्लेले गतवर्षको बजेट निर्माणको प्रक्रियामा अनाधिकृत व्यक्तिको संलग्नताको विषयलाई लिएर अर्थमन्त्रीले राजीनामा समेत दिइएको घटना स्मरण गराउँदै यसपटक नदोहोरियोस् भनेको पुनः दोहोरिएकोमा चिन्ता व्यक्त गरे।

तर, यसपटक पनि त्यही घटना दोहोरिएको भन्ने समाचार आएको छ। हजारौँ भन्सारका कोड र त्यसको जटिलता हामी बुझ्छौँ। अर्थमन्त्रीले यो वर्ष षडयन्त्रमूलक ढंगले निश्चित व्यापारिक घरानाका व्यक्तिलाई फाइदा पुर्याइएको छ कि छैन?
संलग्न गराइएको व्यक्तिलाई विधि र प्रक्रिया अनुसार नियुक्त गरिएको हो कि होइन?

तीस तीस वर्षसम्म यस्ता कोड हार्मोनाइज गर्न सक्ने विज्ञ अरु कोही छैनन्? यी लगायतका विषयमा अर्थमन्त्रीले जवाफ दिनु पर्छ, उनले भने।

राप्रपाका सांसद ज्ञानबहादुर शाहीले करको दर फाइनल गर्नका लागि मन्त्री, सचिव, महानिर्देशक मात्रै बस्ने गोप्य बैठकमा पूर्व नासुको संलग्नता के हो? यस वर्षको बजेटले विद्युतीय गाडीको भन्सार शुल्क र अन्तशुल्क बढाउनु अघि अस्वभाविक ढंगले गाडी भित्राएको समाचारको सत्यता के हो? भनि प्रश्न गरे।

भन्सार विभागका कर्मचारीले प्रवेश नपाउने बजेट निर्माणको गोप्य कोठामा भन्सार विभागका नासु कुन उद्देश्यले प्रवेश गराइयो जवाफ चाहियो भन्दै उनले भन्सार विभागका महानिर्देशक नाटकिय ढंगले अष्ट्रेलिया गएको नाममा निमित्त निर्देशक र उनको सहयोगमा पूर्व कर्मचारीलाई प्रवेश गराएको विषयमा स्पष्ट जवाफ चाहियो।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा अर्थमन्त्रालयमा रामकृष्ण श्रेष्ठलाई फागुन १९ गते सरकारले निर्णय गरेर नियुक्त गरेको देखिन्छ भन्दै दुई वर्षअघि अवकाश पाएका व्यक्तिलाई फागुन २५ गतेदेखि ०८० असारसम्म कसको स्वार्थमा कसले नियुक्त गरिएको हो? जवाफ चाहियो भने।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले जनताको चासो र चिन्ताको विषयमा काम गर्नु पर्नेमा हरेक वर्ष करको दरमा हेरफेर गर्ने काम भइरहेको छ। गरिवका लागि आवश्यक आलु, प्याजमा कर बढाउने, लालमण्डमा घटाउने कामले कसको स्वार्थपूर्ति गर्छ?

अहिलेको घटनाको विषयमा सर्वदलीय संसदीय समिति गठन नभएसम्म सहमति हुन सक्दैन। नेपालमा कर छ, विकास छैन, प्रहरी सुरक्षा छैन, सरकार छ जनताको विश्वास छैन। विचौलिया र व्यापारिक घरानाबाट सरकार कहिले मुक्त हुन्छ? भनि प्रश्न गरे।

 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update