हिमाल दैनिक
एमाले सांसद पन्तको प्रश्नः ‘ग्रेटर नेपालको नक्सा’ संसदमा राख्दा के हुन्छ?

नेकपा एमालेका सांसद रघुजी पन्तले भारतले आफ्नो संसदमा राखेको नयाँ नक्सा नहटाउँदासम्म नेपालले पनि ग्रेटर नेपालको नक्सा आफ्नोे संसदमा टाँग्दा के हुन्छ भनि प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सून्य समयमा बोल्दै एमाले नेता समेत रहेका सांसद पन्तले भारतीय सरकारले नेपालको भूभाग समेटेर बनाएको नयाँ नक्सा आफ्नोे संसदमा राखेकोमा आपत्ति प्रकट गर्दै जस्तालाई तस्तै जवाफ दिनु पर्ने शैलीमा धारणा राखे।

यसअघि बिहिबार काठमाडौं नगरपालिकाले मेयर बालेन शाहको निर्देशनमा उनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँसेपछि उनको पदचाप धरान नगरपालिकाका मेयर हर्क साम्पाङले पनि पछ्याउने बताएका थिए। जसलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि पछ्याउँदै नेपालले पनि आफ्नो सांस्कृतिक नक्सा बनाउनु पर्ने विवादस्पद अभिव्यक्ति दिएर चर्चा बटुलेपछि शुक्रबार एमाले नेता पन्तले पनि सोही मार्ग पछ्याए।

पन्तले संसदमा बोल्दै भनेः

'सभामुख महोदय,

हामी नेपालीको चित्त बहुत छिटो बुझ्छ। हाम्रो प्रधानमन्त्रीले यहाँ आएर भन्नु भयो, मैले उठाएँ नक्साको कुरो त्यहाँको संसदमा राखेको। तर, हिँजो भारतीय विदेशमन्त्री र भारतीय विदेश मन्त्रालयका प्रवक्ताले पनि पत्रकार सम्मेलन गर्दै प्रष्ट के भन्नु भएको छ भने, त्यहाँको विदेशमन्त्रीले यो बंगलादेशले पनि उठायो, पाकिस्तानले पनि उठायो, नेपालले पनि उठायो, तर हाम्रो मित्रदेश नेपालले चित्त बुझाइसक्यो। के नेपालले चित्त बुझाएको हो? यदी भारतले त्यसलाई सांस्कृतिक र ऐतिहासिक नक्सा भनेर आफ्नो संसदमा राखिराख्न पाउँछ भने हामीले सतलजसम्म पुगेको हाम्रो सीमाना, राबी नदीको छेउसम्म पुगेको सीमाना, टिष्टा, काँगडालाई पनि सामेल गरिएको नक्सालाई हाम्रो संसदमा भारतले आफ्नो त्यो नक्सा नहटाएसम्म हामीले पनि आफ्नो संसदमा टाँग्दा के हुन्छ? धन्यवाद।’

 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update