हिमाल दैनिक
नागरिकताबिहिनको पीडामाथिको राजनीति बन्द गर्न सांसद न्यौपानेको माग

नेपाली कांग्रेसकी नेतृ एवं सांसद ईश्वरीदेवी न्यौपानेले आफ्नै मुलुकमा विरानो भएर बाँच्न बाध्य अनागरिकहरुको पीडाप्रति गम्भीर हुँदै नागरिकताको विषयमा राजनीति नगर्न सबैैसँग माग गरेकी छिन्।  

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सून्य समयमा बोल्दै सांसद न्यौपानले नागरिकताबिहिन नेपालीको क्रन्दन र रोदन मिश्रित म्यासेजले आफ्नो मोबाइल भरिएको उल्लेख गर्दै भनिन्, ‘सभामुख महोदय, अनागरिक हुनुको पीडा नागरिकताबाट बञ्चित भएकाहरुलाई मात्रै थाहा हुन्छ।’

नेपालको संविधानको व्यवस्था बमोजिम नागरिकता ऐन ०६३ को प्रावधानहरुमा समय सापेक्ष संशोधन गरी कार्यान्वयनमा नजाँदा अहिले पनि करिब ४ लाख बढि युवा, युवतीहरु नागरिकता प्राप्त गर्नबाट बञ्चित बनिरहेको अवस्था विद्यमान छ।

उनीहरुको समस्याप्रति यसअघिको सरकार र संसदले दुई पटक पारित गरी राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाउँदा पनि तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमै थन्क्याएर राखिदिएपछि समस्या थप जटिल बन्न पुगेको थियो।

पछिल्लो समय सरकारको अनुरोधमा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते शीतल निवासमा थन्किएर रहेको नागरिकता विधेयक प्रमाणिकरण गरिदिएपछि सत्ता बाहिररहेका दल र तिनका नेताहरुले विरोध गर्नुका साथै कतिपय कानून व्यवसायीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। जसलाई अदालतले अन्तरिम आदेश जारी गर्दै कार्यान्वयनमा रोक लगाएको छ।

यसरी कानूनको अभावमा नेपाली नागरिककै सन्तानले समेत नागरिकताको प्रमाणपत्र पाउन नसक्दा दिनहुँ जसो माइतीघर मण्डलामा प्रदर्शन र विरोधका कार्यक्रम जारी छ।

सोही परिस्थितिलाई लक्षित गर्दै सांसद न्यौपानेले भनिन्, ‘छोराछोरी नेपालीको तर, बैंकमा खाता खोल्न मिल्दैन, उच्च शिक्षाको लागि बिदेश जान सक्दैनन्, कलेज टप गरेपनि बैङ्क खाता नभएकोले स्कलरशिपको पैसाबाट बञ्चित हुन्छन्, कुनै सरकारी नोकरी खान पाउदैनन्, वडा सदस्य उठ्ने हैसिएत समेत हुदैन। आफ्नै भुमिमा विरानो छन् उनिहरु।

नेपाली आमा र बुवाबाट जन्मेको सन्तानको नाममा दिने नागरिकतामा अब राजनिती गर्न बन्द गरौं, निरज कुमार झाको आत्महत्या एवं माइतीघर मण्डलामा डोरीले पासो लगाई मर्न खोजेका सरोज शाहको घटनाले पनि हामीलाई झक्झाउन सक्दैन भने जनताका प्रतिनिधि भन्न आज‌को मिती देखी छोडौ।’

उनले थप्दै भनिन्, ‘संविधानसम्मत अधिकार माग्दा पनि अझ अरु कतिले आत्महत्या गर्नु पर्ने? कति अपमानित भएर बाच्नु पर्ने? यथाशीघ्र सहज तरिकाले उनीहरुलाई नागरिकता कसरी दिन सकिन्छ यो बिषयमा सम्बेदनशिल हुन सभामुख मार्फत सबैलाई अनुरोध गर्दछु।’

साथै न्यौपानले सुदुरपश्चिमका प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंह, उनकी धर्मपत्नी र भाउजुको मोटर दुर्घटनामा निधन भएको घटनाप्रति दुःख प्रकट गर्दै भावपुर्ण श्रद्धासुमन पनि व्यक्त गरिन्।

 

 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update