हिमाल दैनिक
सदनको अवरोध खुलाउन सभामुखले बोलाएको बैठक निष्कर्षबिहिन

सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा दलहरुको आ–आफ्नै अडान कायमै रहेपछि आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध हुने सम्भावना बढेको छ।

सिंहदरबारमा आइतबार प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतेकहरुको बैठकमा सत्ता र विपक्षमा रहेका दलका सचेतकहरुले आ–आफ्ना दलका अडान राखेपछि बैठक निष्कर्षबिहीन भएको हो। बैठकपछि कांग्रेस सचेतक सुशीला थिङले अवरुद्ध सदन चलाउनका लागि निकास निकाल्नका लागि छलफल भएपनि दलहरुले आफ्नो अडान कायमै राखेको बताइन्।

त्यस्तै सदनमा कांग्रेस सांसद सुनिल शर्माको अभिव्यक्तिलाई रेकर्डबाट हटाउने वा नहटाउने भन्ने बिषयमा पनि मतभेद कायमै रहेको उनले बताइन्।

केही दिनअघि कांग्रेस सांसद शर्माले सभामुख घिमिरेको अनुमतिमा एमालेको अवरोधका बाबजूद समय लिएर बोल्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘आतंककारी’को संज्ञा दिएका थिए।

उनको अभिव्यक्तिप्रति नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डले संसदको नियमावलीको नियम २६ विपरित सांसद शर्माले नियमापत्ति गर्दै उनको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका थिए।

तर, पाण्डेको मागलाई अलमल गर्दै सुनेका सभामुख घिमिरेले नियमावलीको दफा २६ लाई वेवास्ता गर्दै पाण्डेले शर्माको अभिव्यक्तिको प्रतिवाद मात्रै गरेको भन्दै नियमापत्ति नलाग्ने जिकिर गरेका थिए।

बैठकमा सभामुख घिमिरेले समितिको नेतृत्व चयन प्रक्रिया बाँकी रहेकाले सदनको अवरोध हटाउनका लागि निरन्तर पहल गर्ने जानकारी दिएको सचेतक थिङले बताइन्।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सहभागी थिए।

यसैबीच सदनको अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि संसदमा रहेको ७ प्रमुख राजनीतिक दलका नेताहरुबीच प्रधानमन्त्रीको कार्यालयमा छलफल गरिरहेका छन्।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update