हिमाल दैनिक
सहमहामन्त्री यादवमाथि भएको आक्रमणका दोषीमाथि कडा कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले पार्टी सह–महामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको घोर निन्दा गर्दै आक्रमणमा संलग्न व्यक्ति वा समूह जोकोहीमाथि कानूनी कारबाहीको माग गरेको छ।

समसायिक विषयमा बोल्न बुधबार भृकुटीमण्डपस्थित रिपोटर्स क्लबको कार्यक्रममा सहभागी हुन पुगेका सहमहामन्त्री यादव कार्यक्रममा सहभागी भई फर्किने क्रममा गाडीमा चढ्नै लाग्दा त्यहाँ रहेका एक जना व्यक्तिले यादवको टाउकामा पछाडिबाट खुकुरी प्रहार गरेका थिए।

आक्रमणकारीको आक्रमणबाट टाउकाको पछिल्लो भागमा गम्भीर चोट लागेर रक्ताम्मे हुन पुगेका यादवलाई उनका सहयोगी तथा त्यहाँ रहेका व्यक्तिहरुले तत्काल गाडीमा चढाएर राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पठाएका थिए।

यादवमाथि आक्रमण गर्ने व्यक्तिले दिनदहाडै सांघातिक हमला गरेपछि उनलाई त्यहाँ उपस्थित प्रहरी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। प्रहरीको नियन्त्रणमा परेका नुवाकोट विदुर नगरपालिका ७ स्थायी ठेगना रहेको बताइएका श्यामबाबु सापकोटाले यादवमाथिको आक्रमणपछि पनि प्रहरी नियन्त्रणबाट नाराबाजी गरिरहेका थिए।

यसरी यादवमाथि भएको आक्रमण लगत्तै कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै उक्त घटनालाई पार्टीले गम्भीरतापूर्वक लिएको बताएका छन्।

विज्ञप्तिमा पौडेलले भनेका छन्, ‘यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ। रिपोटर्स क्लवमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमण पछि उहाँको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ।’

साथै वक्तव्यमा भनिएको छ, ‘उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तीर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ।’

 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update