हिमाल दैनिक
राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति माघ ११ गतेलाई तोक्न सरकारलाई आयोगको सुझाव

निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुन लागेको स्थानमा आगामी माघ ११ गते निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ।

संवैधानिक व्यवस्था अनुसार, आगामी फागुन २० गतेदेखि आफ्नो ६ वर्षे कार्यकाल समाप्त गरी विदा हुन लागेका २० सांसद सदस्यहरुको स्थानमा पदपूर्तिका लागि आगामी माघ ११ गते बिहीबार निर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई आयोगका पदधिकारीले हालै भेटेर उक्त परामर्श दिएको अर्यालले बताए।

आयोगको पदाधिकारीसंगको भेटमा प्रधानमन्त्री दाहालले आयोगको सुझावअनुसार नै निर्वाचनको मिति तोक्ने संकेत गरेको अर्यालले बताए।

नेपालको संविधानमा राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ।

आगामी फागुन २० गते निर्वाचित १९ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ।

राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रदेश सभा सदस्यहरुको मतभारमार्फत हुँदै आएको छ।

यसअघि नयाँ संविधान र निर्वाचन कानून बमोजिम ०६८ को जनगणनाको कुल जनसंख्याको आधारमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको मतभार निर्धारण गरि सोही आधारमा चुनाव हुँदै आएको थियो। जसमा यसअघिका निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार एक सदस्य बराबर ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुखमा प्रतिव्यक्ति १८ मत भार निर्धारण गरिँदै आएको थियो।

तर, पछिल्लो राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क बमोजिम यसअघि कायम रहँदै आएको मतभार पनि बदलिएको छ। जसमा राष्ट्रिय सभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेश सभा सदस्यमा प्रति सदस्यको ५३ र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभार कायम गरी सोही आधारमा गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको छ।

जसको आधारमा यसअघिको राष्ट्रिय सभामा प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरुको अत्याधिक उपस्थितिमा नेकपा एमालेले सबैभन्दा बढी संख्या हात पारेपनि यसपटकको राष्ट्रिय राजनीतिमा भएको प्रमुख राजनीतिक दलबीचको गठबन्धनका कारण एमालेबाट रिक्त हुने ८ स्थानमध्ये कुनै पनि स्थानमा एमालेले सफलता पाउनसक्ने सम्भावना सून्य प्रायः देखिएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update