हिमाल दैनिक
सर्वोच्चमा प्रस्तावित न्यायाधीशमध्ये तीन जनाविरुद्ध मात्रै १० वटा उजुरी, राजदूतमा सिफारिस नेपालको सुनुवाई भोली नै!

सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदका लागि न्याय परिषदको सिफारिसमा परेको प्रस्तावित ६ उम्म्मेदवारहरु मध्ये जम्मा तीन जनाविरुद्ध १० वटा उजुरी परेका छन्।

संविधान बमोजिम सर्वोच्च अदालतका न्यायाधीशहरुको नियुक्तिपूर्व संसदीय विशेष सुनुवाई समितिले सुरु गरेको सुनुवाई प्रक्रियाको प्रारम्भिक चरणमा सर्वसाधारणलाई उजुरीका लागि दिएको म्यादभित्र जम्मा १० वटा उजुरी परेको हो।

संसदीय सुनुवाई समितिका जेष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा बिहीबार सिंहदरबार संसद सचिवालयमा बसेको समितिको बैठकमा समितिमा प्राप्त उजुरी पत्र खोल्दा जम्मा तीन प्रस्तावित उम्मेदवारकाविरुद्ध १० वटा उजुरी परेको जानकारी अध्यक्ष जबराले दिए।

यसरी परेका उजुरीमध्ये सबैभन्दा बढी उजुरी सर्वोच्च अदालतमा नियुक्तिका लागि प्रस्तावित उम्मेदवार न्यायाधीश सारङ्गा सुवेदीको नाममा पाइएको छ। उनकाविरुद्ध समितिमा ६ वटा उजुरी परेका छन् भने, अर्का प्रस्तावित उम्मेदवार न्यायाधीश टेकप्रसाद ढुंगाना विरुद्ध ३ र अब्दुल अजिज मुसलमानका विरुद्ध एउटा उजुरी परेको जानकारी समितिका अध्यक्ष जबराले दिए।

अन्य तीन प्रस्तावित उम्मेदवारहरुमा न्यायाधीश महेश शर्मा पौड्याल, सुनिल पोखरेल र बालकृष्ण ढकालविरुद्ध भने कुनै उजुरी नपरेको समितिले जनाएको छ।

सर्वोच्च अदालतमा रिक्त रहेको ७ स्थानमध्ये ६ पदका लागि न्याय परिषदले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेका उम्मेदवारको विषयमा समितिमा परेको उजुरीबारे केही दिन समितिको अध्ययन समितिले थप अध्ययन गर्न समय माग गरेपछि प्रस्तावित उम्मेदवारहरुलाई सुनुवाईका लागि बोलाउनुपूर्व उजुरीकर्तासँग छलफलको कार्यतालिका तय गरेको छ।

जसअनुसार, समितिले मंसिर २७ गते उजुरीकर्ताहरुसँग छलफल गर्ने तयारी गरेको छ भने, त्यसपश्चात प्रस्तावित उम्मेदवारहरुलाई क्रमशः मंसिर २९, पुस १ र २ गते दुई÷दुई जनाको दरले सुनुवाई गर्ने निर्णय पनि समितिले गरेको छ।

यसैगरी समितिको बैठकले पोर्चुगलका लागि आवासीय राजदूत पदमा नियुक्तिका लागि सिफारिसमा परेका उम्मेदवारलाई सुक्रबार बोलाएर सुनुवाई गर्ने भएको छ।

केही दिनअघि बसेको मन्त्रिपरिषदको बैठकले पोर्चुगलमा नेपाली राजदूतावास खोल्ने निर्णयसँगै उक्त दूतावासमा शनिल नेपाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

कुटनीतिक क्षेत्रमा सामान्य ज्ञानसमेत नभएका नेपाललाई अचानक सरकारले नयाँ दूतावास खोल्ने निर्णय गर्दै नियुक्तिको निर्णय गरेपछि यसबारे विभिन्न चासो र चर्चा सुरु भएको थियो।

यसका बाबजूद संसदीय सुनुवाई समितिले नेपाल विरुद्ध उजुरी माग गरेपनि उनका विरुद्ध एउटा मात्रै उजुरी परेपछि भोली नै प्रस्तावित उम्मेदवारलाई बोलाएर सुनुवाई गर्ने तयारी भएको छ।

समितिको बैठकमा नेकपा एमालेका सचेतक एवं समितिका सदस्य महेश बर्तौलाले मुलुक अहिले जुन आर्थिक संकटबाट गुज्रिरहेको छ, त्यसबाट पार नपाउँदै केकति कारणले पोर्चुगलमा दूतावास खोल्नु परेको हो यसको कारण सरकारसँग मागेपछि मात्रै सुनुवाई प्रक्रिया अघि बढाउन माग गरेका थिए।

उक्त बैठकमा समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले यसविषयमा परराष्ट्र मन्त्रीलाई समितिको बैठकमा बोलाएर छलफल गर्नु उपयुक्त हुने सुझाव दिएका थिए।

यसका बाबजूद समितिको बैठकको अध्यक्षता गरिरहेका सदस्य जबराले प्रस्तावित उम्मेदवारको विषयमा सुनुवाई हुनुपूर्व परराष्ट्र मन्त्रीसँग यसबारे जानकाारी लिने जानकारी समितिमा दिएका थिए।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update