हिमाल दैनिक
कम्युनिष्टहरुसँगको गठबन्धन निरन्तर कायम रहे कांग्रेस सकिन्छः नेता कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कम्युनिष्ट पार्टीसँगको गठबन्धनलाई निरन्तरता दिए कांग्रेस पार्टी नै बिस्तारै सकिने दाबी गरेका छन्।

शुक्रबार काठमाडौंमा रीता शाहीद्वारा लिखित ‘चिनारी’ नामक गजल संग्रह बिमोचन गर्दै नेता काइरालाले डेमोक्रेटिक पार्टीसँग मात्र गठबन्धन हुने भन्दै कम्युनिष्ट पार्टीसँग गठबन्धनलाई अघि बढाए विस्तारै सकिदै जाने बताए।

उनले अहिलेको संवैधानिक व्यवस्था अनुसार, दलहरुबीच गठबन्धनको बाध्यात्मक व्यवस्था भएपनि त्यो गठबन्धन निर्वाचन पूर्व गठबन्धन गर्ने कि निर्वाचन पश्चात सत्ता संचालनको क्रममा भन्ने सवालमा चूनावपछि मात्रै गठबन्धन गर्नु उपयुक्त हुनेमा जोड दिए।

साथै उनले कम्युनिष्टसँग मात्रै गठबन्धन गर्नु भनेको संविधान, व्यवस्था र मुलुककै लागि पनि घातक सिद्ध हुन सक्ने दाबी गर्दै लोकतान्त्रिक शासन व्यवस्थामा विश्वास गर्ने कांग्रेसले लोकतान्त्रिक शक्तिसँगै गठबन्धन गरेर अगाडि बढ्दा उपयुक्त हुने दाबी पनि गरे।

पछिल्लो समय पार्टीभित्रका कतिपय व्यक्तिहरुले रुपान्तरण र पुस्तान्तरणको नारा दिएर पुरानो पुस्ताको नेतृत्वविरुद्ध अभियान चलाइरहेको बेला नेता कोइरालाले घुमाउरो पाराले असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘युवाहरुले महत्वाकांक्षा राख्नु राम्रो भएपनि उग्र महत्वकांक्षा राख्नु कसैका लागि राम्रो हुँदैन।’


त्यस्तै उहाले अहिलेको अवस्थामा देश परिवर्तन गर्ने हो भने कांग्रेस परिवर्तन गर्नुपर्नेमा जोड दिए। पार्टीभित्र देखिएको अन्तरिक विवादको विषयमा नेता कोइरालाले कांग्रेस लोकतान्त्रीक पार्टी भएकाले वादविवाद हुनु स्वभाविक भएको बताउँदै यसमा सुधार गरी अगाडि बढ्न जरुरी भएको बताए। उनले भने, ‘कुनै एउटा पार्टीले सुदूरपश्चिमको एउटा कार्यक्रममा त्यहाँका अर्का नेतालाई कुनै जानकारी नै नदिई गरेको कुरा बाहिर आएको छ, तर, हाम्रो कांग्रेस पार्टीभित्र त्यस्तो हुँदैन।’

उनले भ्रष्टाचारको अन्त्यविना सुशासनको परिकल्पना गर्न नसकिने बताउँदै भ्रष्टाचारको अन्त्य नगरी र सुशासन कायम नगरी जनतामा व्याप्त निराशालाई आशामा रुपान्तन्तरण गर्न नसकिने धारणा राखे।

त्यस्तै कांग्रेस नेता रमेश लेखकले अहिलेको जनतामा देखिएको असन्तुष्टिप्रति कांग्रेस गम्भीर हुनुपर्ने बताए।
साथै उलने संविधान र व्यवस्थामाथिको असन्तुष्टिले अर्को गम्भीर दुर्भाग्यपूर्ण स्थिति आउन सक्नेतर्फ सबै सजग हुन आवश्यक रहेको बताए।

नेता लेखकले कुनै पार्टीको बहुमत नआउने विद्यमान समस्याको समाधान गर्नुको विकल्प नरहेको पनि बताए।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update