हिमाल दैनिक
उजुरीकर्ताको कुरा सुनेको सुनुवाई समितिले मंसिर २९ गते न्यायाधीशको सुनुवाई गर्दैै

संसदीय सुनुवाइ समितिले मंसिर २९ गते सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशको सुनुवाई गर्ने भएको छ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध दिएको उजुरीबारे थप जानकारी लिन उजुरीकर्तासँग छलफल गरेपछि मंसिर २९ गते प्रस्तावित न्यायाधीशको सुनुवाइ गर्ने निर्णय गरेको हो।

न्याय परिषदको सिफारिसमा सर्वोच्च अदालतमा रिक्त रहेका ७ मध्ये ६ पदको पदपूर्तिका लागि प्रस्तावित ६ जना उम्मेदवारमध्ये तीन न्यायाधीशविरुद्ध १० वटा उजुरीहरू परेका थिए।

जसमध्ये प्रस्तावित न्यायाधीश सारंगा सुवेदी विरुद्ध ६ वटा उजुरी परेको थियो भने टेकप्रसाद ढुङ्गाना विरुद्ध ३ वटा र अब्दुल अजिज मुसलमान विरुद्ध एउटा मात्र उजुरी परेको थियो।

उनीहरुबिरुद्ध अवको बैठकमा सुनुवाई हुने समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

त्यसअघि समितिको बैठकमा उपस्थित उजुरीकर्ता पुष्पप्रसाद गुरागाईंले प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुङ्गानाले राजस्व न्यायाधिकरणमा रहँदा नियम विपरीत फैसला गरेको आरोप लगाएका थिए।

त्यस्तै उजुरीकर्तामध्ये दाइजोको विषयलाई लिएर हत्या गरिएकी आरती साहका बुबा विनोदप्रसाद साहले प्रस्तावित न्यायाधिश सारंगा सुवेदीले उच्च अदालत जनकपुरमा रहँदा कर्तव्य ज्यान मुद्दाका आरोपीलाई धरौटीमा छोडेको र फैसला न्यायसम्मत नगरेको आरोप लगाएका थिए।

यस्तै प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानले सम्पत्ति मुद्दामा न्यायसम्मत फैसला नगरेको उजुरीकर्ताको आरोप छ।

न्यायपरिषदले सर्वोच्चको न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश शारङ्गा सुवेदी, उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमान, उच्च  अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुङ्गानालाई सिफारिस गरेको थियो भने वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई पनि सर्वाेच्च अदालतको प्रस्तावित न्यायाधीशमा सिफारिस गरेको हो।

सुनुवाई समितिले सबै उम्मेदवारहरुलाई बोलाएर सुनुवाई गरेपछि उक्त समितिले अनुमोदन गरेको खण्डमा यी उम्मेदवारहरु सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुने छन्। यदी कुनै उम्मेदवारको विषयमा विवाद भएर समितिको दुई तिहाई बहुमतले अस्विकृत गरेको खण्डमा उक्त उम्मेदवार न्यायाधीश नियुक्त हुनबाट बञ्चित हुनेछ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update