हिमाल दैनिक
संसदलाई एमालेको पकडमा राखिराख्न महासचिव गौतमले दिए पदबाट राजीनामा

संघीय संसदका महासचिव भरतराज गौतमले आफ्नो पदबाट राजीनामा दिएका छन्।

महासचिव गौतमले आफ्नो कार्यकाल समाप्त हुनु अगावै आइतबार घरायसी कारण देखाउँदै पदबाट राजीनामा दिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए।

गौतमले पदबाट राजीनामा दिएलगत्तै रिक्त रहेको महासचिव पदमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद्यमप्रसाद पाण्डेलाई नियुक्तिको सिफारिस समेत गरिसकेका छन्।
संविधानको धारा १०६ को व्यवस्था बमोजिम प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभा अध्यक्षको सिफारिसमा संघीय संसद सचिवालयका महासचिवको नियुक्तिको सिफारिस हुने व्यवस्था रहेको छ।

संसद सचिवालयमा सेवा प्रवेश गरेर बढुवा हुँदै ०७७ वैशाख २२ गतेदेखि महासचिवको जिम्मेवारी सम्हाल्दै आएका निवर्तमान महासचिव गौतमले निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुन लागेका २० स्थानमा पदपूर्तिका लागि निर्वाचनको कार्यक्रम सार्वजतिक गरी प्रक्रिया अघि बढाइरहेकै बेला दिएको राजीनामाले सत्ता गठबन्धनका दलहरुमाझ सशंकित गराएको छ।

विशेषगरी नेकपा एमालेबाट ०७४ सालमा राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित भएर उक्त सदनको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका अध्यक्ष तिमिल्सिनाको कार्यकाल आगामी फागुन २० गतेबाट समाप्त हुँदैछ।

अध्यक्ष तिमिल्सिनाको कार्यकाल समाप्त भएपछि बन्ने राष्ट्रिय सभाको गणितीय बनाबटका आधारमा चयन हुने नयाँ अध्यक्ष र संसदको सभामुखले गौतमको कार्यकाल पश्चात गर्न सक्ने महासचिव नियुक्तिको सिफारिसमा आफू अनुकूल नहुने देखेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको रणनीतिक योजना मुताविक महासचिव गौतमले कार्यकाल सकिनु अगावै राजीनामा दिएर सभामुख र अध्यक्षले आफू अनुकूल महासचिवको नियुक्ति गरेको आशंका सत्ता गठबन्धनका नेताहरुले गरेका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले राष्ट्रिय सभा सदस्यको निर्वाचन कार्यक्रम निर्वाचन आयोगले सुरु गरिसकेको अवस्थामा विदा हुँदैगरेका राष्ट्रिय सभा अध्यक्षले नयाँ नियुक्तिको प्रक्रियामा सहभागी हुन नहुने जिकिर गरे।

उनले भने, ‘निर्वाचनको कार्यक्रम सार्वजनिक भएपछि आयोगले निर्वाचन आचारसंहिता लागू गर्छ। अझ यो त राष्ट्रिय सभा सदस्यकै पदपूर्तिका लागि निर्वाचन हुँदैछ। यसरी आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेपछि फागुनमा विदा हुन लाग्नु भएका राष्ट्रिय सभा अध्यक्षले नयाँ महासचिवको नियुक्तिका लागि निर्णय प्रक्रियामा संलग्न हुनु आचार संहिता र राजनीतिक मूल्य, मान्यता विपरितको कार्य हो।’

निवर्तमान महासचिव गौतमले अघिल्लो संसदमा सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगका कारण भएको निलम्बनलाई संसदको कार्यकाल सकिएलगत्तै स्वतः फुकुवा भएको भनि पत्र पठाएपछि सत्ता गठबन्धनमा सहभागी दलहरुले उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको डिजाइनमा चलेको आरोप लगाएका थिए।

त्यतिबेला गौतमको विषयमा प्रश्न उठाएका दलहरुबीच गत निर्वाचन लगत्तै तालमेल बिग्रीएपछि सदनभित्र उक्त विषयले खासै स्थान पाउन सकेको थिएन। तर, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको कार्यकाल समाप्त हुनुअगावै एमालेले पछि कुनै निकायमा व्यवस्थापन गर्ने आश्वासनको आधारमा गौतमले कार्यकाल पूरा नगरी बिचैमा महासचिव पदबाट राजीनामा दिएको आशंका गर्न थालिएको छ।

 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update