हिमाल दैनिक
निर्वाचन आयोगको आयुक्त बन्ने आशामा महासचिव छाडेका गौतमको राजीनामा स्वीकृत

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आफ्नो पदबाट दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन्।

विगत लामो समयदेखि संसद सेवामा क्रियाशील हुँदै संसदको महासचिव जस्तो गरिमामय पद पुगेका निवर्तमान महासचिव गौतमले आफ्नो ८ महिने कार्यकाल बाँकी रहँदै आइतबार घरायसी कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए।

गौतमको राजीनामाबारे राष्ट्रपति कार्यालयले कुनै निर्णय नलिँदै तत्काल प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र आगामी फागुन २० गतेबाट विदा हुँदै गरेका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सचिवालयका सचिव पद्यमप्रसाद पाण्ड्यलाई नयाँ महासचिव पदमा नियुक्तिको सिफारिस गरेपछि गौतमको राजीनामाले राजनीतिक सरगर्मी बढाएकोे थियो।

विशेषगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुँदै उक्त सदनको अध्यक्ष बन्न पुगेका तिमिल्सिना आफ्नो ६ वर्षे कार्यकाल समाप्त गरी फागुनमा विदा हुँदैगर्दा त्यसपछि बन्ने राष्ट्रिय सभा अध्यक्षले आफ्नो चाहनाबमोजिम गौतमको पूर्ण कार्यकालपश्चात संसदको महासचिवमा पदपूर्ति गर्न कठिनाई हुने निचोडमा पुगेको एमालेकै रणनीतिमा गौतमले राजीनामा दिलाएर पाण्ड्ेयलाई नियुक्तिको प्रक्रिया अघि बढाइएको थियो।

यसरी गौतमलाई महासचिव पदबाट कार्यकाल समाप्त हुनुअगावै राजीनामा गराउन एमालेकै कतिपय शीर्ष नेताहरु सक्रिय रहेको र उनीहरुले गौतमलाई आगामी दिनमा कुनै न कुनै राज्यका प्रमुख निकायमा पार्टीको कोटाबाट सिफारिस गर्ने आश्वासन दिएको उच्च स्रोतको दाबी छ। उक्त स्रोतका अनुसार, गौतमलाई संवैधानिक परिषदको सिफारिसमा हुने नियुक्ति विशेषगरी निर्वाचन आयोगको आयुक्त पदमा नियुक्ति दिलाउने आश्वासन दिएपछि गौतमले महासचिव पदबाट राजीनामा दिन तयार भएको बताइएको छ।

संसद सचिवालयमा लामो समयदेखि क्रियाशील रहँदै आएका सचिवहरुलाई महासचिव पदको नियुक्ति प्रक्रियामा सामेल नगराई महान्यायाधीवक्ताको कार्यालयबाट सोझै संसदको सचिव पदमा नियुक्त पाण्ड्ेयलाई महासचिव बनाउन लागिएको भन्दै संसद सचिवालयका कर्मचारीहरु पनि असन्तुष्ट बनेका छन्।

पाण्ड्ेयको नियुक्तिको सिफारिसको विषयमा सचिव पदबाट राजीनामा नदिइकनै सभामुख र अध्यक्षले हतारोमा नियुक्ति गरेपछि अहिले उक्त नियुक्तिको सिफारिसबारे राष्ट्रपति पौडेलले अध्ययन गरिरहेको बताइएको छ।

यसैबिच संसदका सभामुख घिमिरेले गौतमको राजीनामा पश्चात रिक्त रहेको महासचिव पदमा नयाँ नियुक्तिको प्रक्रियाले टुंगो नलाग्दासम्म सचिव पाण्ड्ेयलाई महासचिवको जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।

 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update