हिमाल दैनिक
महासमिति बैठक फागुनका लागि सर्ने सम्भावना, कार्यसम्पादनको बैठकले दल दर्ताको निर्णय गर्दै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आब्हानमा पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी मुख्यालय सोनपामा आज अपरान्ह बस्दैछ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, बैठकमा छलफलका मुख्य विषयवस्तुमा आसन्न महासमिति बैठकको तयारी, जाजरकोटको भुकम्प र समसामयिक राजनीतिक सम्बन्धमा केन्द्रीत हुने भनिएको छ।

यसका बाबजूद, आज बस्ने कार्यसम्पादन समितिको बैठकले पहिलो निर्णय आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगले दिएको समयसीमाभित्र आयोगमा दल दर्ता गर्ने निर्णय हुँदैछ।

पार्टीका एक नेताले दिएको जानकारी अनुसार, दल दर्ताको समयसीमा आजैसम्मका लागि मात्रै भएकोले आयोगमा दल दर्ताका लागि आजै निर्णय गरी पार्टी प्रतिनिधिलाई आयोगमा पठाउने तयारी छ।

यसका अतिरिक्त, आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले यसअघि तय गरेर दोस्रो पटक तिथि, मिति बदलेको पार्टीको महासमिति बैठकको तयारीसँगै प्रतिकूल मौसमको कारण पुसको सट्टा फागुन दोस्रो साता गर्नेगरी मिति तय गर्ने सम्भावना बढेको छ।

गत असोज ४ देखि ८ गतेसम्म बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले साउनमा सम्पन्न बैठकको निर्णयका आधारमा सुरुमा मंसिर १३ देखि १६ गतेसम्म र पछि पुस २९ गतेबाट बस्ने भनिएपनि पछि पुसको १६ गतेबाट बस्ने भनिएको थियो।

असोजमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको विषयमा मुल तयारी समितिसँगै विभिन्न समितिहरु गठन गरेपनि त्यहीबीचमा राष्ट्रिय चाडबाड र कार्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट लगायतका क्षेत्रमा गएको विनाशकारी भुकम्पको कारण महासमितिको बैठक पुस १६ गतेदेखि ललितपुरको गोदावरीमा गर्ने भनिएको थियो।

तर, त्यहीबीचमा निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटमा पदपूर्तिका लागि माघ ११ गते निर्वाचन गर्नेगरी तयारी अघि बढाएपछि उक्त निर्वाचनको तयारीमा केन्द्रीत हुनुपर्ने पहिलो कारण देखाउँदै सभापतिले महासमितिको मिति सार्ने प्रस्ताव गर्न सक्ने सम्भावना छ।

पुसको मध्यजाडोमा गोदाबरीमा हुने भनिएको महासमिति बैठकमा आउन र बस्न कठिनाई हुने भन्दै कतिपय मधेस र हिमाली क्षेत्रका प्रतिनिधिहरुले पार्टी नेतृत्वलाई उक्त महासमिति बैठक फागुनमा सार्न सुझाव दिँदै आएका पनि थिए।

जसको आधारमा सभापति शेरबहादुर देउवा मात्र होइन, पार्टीका अन्य शीर्ष नेताहरु पनि महासमितिको बैठक परसार्न सहमत देखिएपनि पार्टी महामन्त्री गगनकुमार थापाले तोकिएकै मितिमा महासमिति बैठक गर्न दबाब दिँदै आएका थिए।

यसरी महासमितिको बैठक पुसमै गर्ने अथवा फागुनका लागि सार्ने भन्ने विषयमा चलेको विवादले पार्टीभित्रको कुनै पनि पक्षलाई फाइदा वा वेफाइदा अथवा अनुकूलता वा प्रतिकूलता हुने भने देखिँदैन।

किन भने, भन्नका लागि कांग्रेसको १४औं महाधिवेशनमा उक्त महाधिवेशनलाई नेतृत्व चयनको विषयमा केन्द्रीत गर्दै त्यसको ६ महिनाभित्र नीति निर्माण तथा विधान पारित गर्न अधिवेशन गर्ने भनिएको थियो।

तर, त्यसपछिका दिनमा विभिन्न तहका निर्वाचनमा मुलुक होमिएपछि पर सर्दै गएको नीति महाधिवेशन अन्त्यमा महासमिति बैठक गर्ने निर्णयमा टुंगिएको थियो।

जसका लागि सभापति देउवाको नेतृत्वमा महासमिति मूल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा नीतिगत पस्ताव तयारी समिति, महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा सांगठनिक प्रतिवेदन तथा महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनीतिक प्रस्ताव तयार पार्ने भनिएको थियो।

गत असोजको पहिलो सातामा सम्पन्न केन्द्रीय कार्यसमितिले विभिन्न समिति तयार पारेपनि पार्टीले नयाँ संविधान र यसले अंगिकार गरेका नीति, सिद्धान्तहरुको पूर्ण पालना गर्नेगरी पार्टीको नीति तयारीमा नेतृत्वले खासै ध्यान नदिइरहेको गुनासो एक नेताले गरे।

यसका अतिरिक्त १३औं महाधिवेशन पश्चात ०७६ सालमा सम्पन्न महासमिति बैठकले संशोधनसहित पारित गरेको पार्टी विधानका कतिपय प्रावधानहरु कार्यान्वयनमा नजाँदै निलम्बनमा परेका मात्र होइनन्, कतिपय बुँदाहरु संविधान र शासकीय प्रणालीको प्रावधान विपरित भएपनि त्यसको संशोधनबारे पार्टी नेतृत्वले खासै चासो देखाएको छैन।

यत्तिसम्मकी असोज २ गतेदेखि ८ गतेसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकको अन्तिममा महामन्त्री थापाले आगामी महासमिति बैठकमा नीतिबारे छलफल हुने भएपनि विधानको विषयमा कुनै छलफल नहुने राय दिएका थिए।

पार्टी विधानका अव्यवहारिक अथवा सान्दर्भिक बुँदाहरुको संशोधन प्रक्रियाको विषयमा तयारी नगर्नुका पछाडि महामन्त्री थापा लगायतका कतिपय नेताहरुमा सभापति देउवाको छायाँले तर्साइरहेको पो हो कि भन्न आशंका अर्को पक्षले गरिरहेका छन्।

महामन्त्री थापा र उनका सहयोगीहरुले तत्काल विधान संशोधनको विषय उठाएमा सभापति देउवाले त्यो अवसरलाई पक्रेर सभापतिमा पुनः तेस्रो कार्यकाल पनि हुन सक्ने प्रावधानसँगै आफू अनुकूलका पात्रहरुलाई उपसभापति, महामन्त्री लगायतका पदमा मनोनित गर्ने बाटो खुलाउन सक्ने आशंका गर्दै विधानको विषयमा छलफल गर्न चाहिरहेका छैनन्।

तर, सभापति देउवा निकट एक नेताका अनुसार, विधानका केही विषयमा महासमिति बैठक सुरु हुनुअघि बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गरेर महासमिति बैठकमा प्रस्ताव लैजान सकिने सम्भावना रहेको छ।

यसैगरी आजको बैठकले जाजरकोट लगायतका क्षेत्रमा गएको भुकम्प र प्रभावित नागरिकको आवास निर्माणदेखि समासामयिक राजनीतिक विषयमा पनि छलफल गर्दैछ।
 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update