हिमाल दैनिक
रङ्गभूमि मैदानमा अन्नबाट बनाइएको सीतारामको आकृति तयार
जनकपुरधामको रङ्गभूमी मैदानमा राम जानकी विवाह महामहोत्सवको अवसरमा ११ हजार ११ स्क्वायर फिटमा अन्नले सीताराम स्वयम्बरको आकृति बनाइँदै । विश्व किर्तिमान कायम गर्ने उद्देश्यले भगवान् राम र सीतासहितको आकृति बनाउने कार्यका लागि भारतका सतिश गुज्जरको नेतृत्वमा आ

विवाहपञ्चमीको अवसरमा रङ्गभूमि मैदानमा ११ हजार स्क्यावर फिटभन्दा ठुलो सीतारामको आकृति तयार गरिएको छ ।

    जनकपुरधामस्थित रङ्गभूमि मैदानमा सीताराम आकृति तयार भएपछि यसको दर्शनका लागि पनि निमन्त्रणा आयोजक टोलीले दिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले सीतारामको आकृतिमा प्रयोग गरिएको अन्नलाई सदुपयोग गरिने बताउनुभयो ।

    नगरप्रमुख साहले एक सय दुई क्विन्टल अन्नको प्रयोग गरिएको चिन्ता व्याप्तरुपमा उठिरहेको भन्दै यस अन्नको सदुपयोग गर्नका लागि लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “धार्मिकस्थलका रुपमा रहेको जनकपुरधाम सीता माताको गृहनगर रहेकाले हामीले विभिन्न सङ्घसंस्था तथा विभिन्न व्यक्तिहरुको सहयोग र समयोजन तथा समर्थन पाएपछि सीतारामको आकृति बनाउन अभिप्रेरित भएका हौँ, अन्नलाई कसरी प्रयोग गर्ने भन्नेमा हामी लागिपरेका छौँ ।” सो विषयमा नकारात्मक टीकाटिप्पणीभन्दा पनि अहिले सकारात्मक कामका लागि सबैसँग सहयोग माग्दै सफल पार्नका लागि उहाँले आग्रह गर्नुभयो ।

    जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले भन्नुभयो, “यो प्रतिमा विश्व सम्पदाको सूचीमा ल्याउनका लागि पनि हामीले पहलकदमी लिइरहेको छौँ ।” उहाँले सीतारामको प्रतिमा करिब एक सातासम्म रहने भएकाले यसको सुरक्षा घेरामा नगर प्रहरी र नेपाल प्रहरीले पनि सुरक्षा प्रबन्धको व्यवस्थामा सहयोग गर्ने बताउनुभयो  । उहाँले सीतारामको प्रतिमा बनाउनका लागि संयुक्त खाता खोलेर नगरवासी तथा सहयोगी दाताहरुबाट रकम सङ्कलन गरी काम गरेको पनि बताउनुभयो । नगरप्रमुख साहले सीतारामको आकृति बनाउने शतिश गुज्जर र गुनगुन मिश्रालाई विशेष धन्यवाद पनि दिनुभयो ।

    जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले सीतारामको आकृति तयार भइसकेकाले आजदेखि नगरवासी, श्रद्धालु भक्तजनलगायत सबैमा दर्शनका लागि अपिलसँगै निमन्त्रणा दिनुभयो । महासेठले ८० प्रतिशत अन्नको बर्बादी हुन नदिने योजना रहेको बताउनुभयो । उहाँले बर्बाद हुनबाट बचेको अन्नलाई जोगाएर विभिन्न आश्रममा सहयोगसँगै वितरण गर्ने योजना रहेको पनि बताउनुभयो । उहाँले सीतारामको आकृति बनाउने योजना डेढ महिनाअघिको रहेकाले यसलाई पूर्णता दिनका लागि हामीले पनि पहलकदमी लिएको बताउनुभयो ।

    महासेठले यस सीतारामको आकृति बनाउनका लागि स्थानीय व्यापारी तथा व्यवसायीसमेतको भरपुर सहयोग रहेको बताउनुभयो । निर्देशक तथा कलाकार गुज्जरले ११ हजार ११ स्क्वायर फिटमा सीतारामको आकृति बनाउनका लागि पाँच दिन लागेको बताउनुभयो ।

    यसअघि भारतको उत्तर प्रदेशस्थित अयोध्यामा सीतारामको आकृति १० हजार आठ सय स्क्वायर फिट बनाएर विश्व रेकर्ड बनाइएको थियो । जनकपुरधाममा निर्माण गरिएको यस आकृतिले भारतको रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको गुज्जरले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update