हिमाल दैनिक
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मन्त्रीहरुले वयान दिने!

नेपाली कांग्रेसको आजदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आफ्नो कार्यप्रगति विवरण पेश गर्ने भएका छन्।

अपरान्ह १ बजेदेखि पार्टी मुख्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि तयारी गरिएका मुख्य विषयवस्तुबारे जानकारी दिँदै कांग्रेस प्रचार विभाग प्रमुख एवं केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले आजको बैठकमा सर्वप्रथम सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले सरकारको विगत एक वर्षे कार्यकालमा आफूहरुले गरेको कामकारबाहीको विषयमा जानकारी दिने बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले एक वर्ष कार्यकाल पूरा गरेपनि उक्त सरकारमा सहभागी भएको कांग्रेसका मन्त्रीहरुले विगत १० महिनाको कार्यप्रगति विवरण केन्द्रीय कार्यसमितिमा पेश गर्ने छन्। दाहाल नेतृत्वको सरकारमा कांग्रेसका केही मन्त्रीहरु गत वर्षको चैत्र महिनामा र केही गत जेठको सुरुमा सहभागी भएका थिए।

प्रधानमन्त्री दाहालले मंगलबार देशवासीका नाममा सम्बोधन गर्दा आफूले अपेक्षा गरेबमोजिमको प्रगति हाँसिल नभएपनि सरकारको कामकारबाही सन्तोषजनक नै भएको र अबका दिनमा फरक ढंगले काम गर्ने बताएका थिए।

यसका बाबजूद सरकारको कामकारबाहीका विषयमा कांग्रेसकै पदाधिकारी तहदेखि तल्लो तहका कार्यकर्तासम्मले असन्तुष्टि जनाउँदै र गठबन्धन सरकारको आलोचना गर्दै आएका छन्। यसका प्रतिवादन सरकारमा सहभागी मन्त्रीहरुले कसरी गर्नेछन् त्यो आजबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा सुन्न लायक नै हुने बुझिएको छ।

सरकारका मन्त्रीहरुको वयान जस्तै हुने सम्भावना रहेको अवस्थामा गत साउन पहिलो सातादेखि कांग्रेसले सामाजिक संजालमार्फत प्रत्यक्ष प्रसारण गर्ने अभ्यासको थालनी गरेको कांग्रेसले आजको बैठक प्रत्यक्ष प्रसारण गर्ने सम्भावना न्यून रहेको स्रोतले बतायो।

यसैगरी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस कसरी भव्यताका साथ सम्पन्न गर्ने भन्नेबारे छलफल र तयारी हुने पनि नेता विश्वकर्माले बताए।

यसका अतिरिक्त आसन्न महासमिति बैठकको तयारीसँगै विविध शीर्षकमा नजिकिँदै गरेको राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारीबारे पनि पार्टीभित्र छलफल गरिने छ।

गत साउन र असोजमा बसेका केन्द्रीय कार्यसमिति बैठक करिब करिब एक हप्तासम्म चलेपनि आजबाट सुरु हुने बैठक पुस १४ गते सक्नेगरी तयारी थालिएको छ।

तीन दिनभित्र बैठक सक्नुपर्ने बाध्यताबारे प्रष्ष्ट्याउँदै नेता विश्वकर्माले भने, ‘पुस १५ गते लोसार पर्व, १६ गते मेलमिलाप दिवस, त्यसपछिका दिनमा राष्ट्रिय सभाको निर्वाचनका विषयमा सत्तासाझेदार दलहरुसँगको छलफल र पुस २३ गतेअगाडि कार्यसम्पादन तथा संसदीय समितिको बैठक बस्नुपर्ने स्थितिमा आजबाट सुरुहुने बैठक धेरै लामो समय जाने सम्भावना छैन।’

कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गत निर्वाचनमा पराजित भएकादेखि पटक पटक अवसर पाएकै नेताहरुलाई उम्मेदवार बनाउने तयारी गरिरहेको भन्ने समाचार प्रकासित भएपछि पार्टीभित्रका कतिपय नेता, कार्यकर्ताहरुले यसको विरोध गरिरहँदा केन्द्रीय कार्यसमिति बैठकभित्र उम्मेदवार चयनको मापदण्डको विषयले विवाद चर्काउन सक्ने सम्भावना पनि प्रवल देखिएको छ।  
 

 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update