हिमाल दैनिक
अरुमाथि दोष थोपार्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर हुन नेतृ न्यौपानेको आग्रह

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य ईश्वरीदेवी न्यौपानलेले गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले चाहेजति काम गर्न नसकेको भन्दै असफलताको दोष अन्य सहयात्री दलमाथि थोपार्ने कोशिश गरिरहेको भन्दै यसमा पार्टीले खबरदारी गर्न आवश्यक रहेको बताएकी छिन्।

बिहिबारदेखि पार्टी मुख्यालय सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको दोस्रो दिन शुक्रबार बोल्दै नेतृ न्यौपानेले प्रधानमन्त्री दाहालले सार्वजनिक कार्यक्रमदेखि संसदीय समिति र देशवासीका नाममा गरेको सम्बोधनका क्रममा व्यक्त गरेको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिन जोड दिइन्।

‘हामी गठबन्धनमा छौ। प्रधानमन्त्रीज्युले कहिले मलाई काम गर्ने हुटहुटी छ मन्त्रीहरुको कामदेखी सन्तुष्ट छैन। कहिले गठबन्धनको कारणले सोचेजस्तो गर्न सकिन भन्नुभएको छ। गल्ती आफुले गरेर अर्काको टाउकोमा दोष त थोपर्दै हुनुहुन्न?’ उनले प्रश्न गर्दै थपिन्, ‘आफ्नो पक्षमा र अरुको विपक्षमा बोलेका यस्ता कुराहरुको खबरदारी गर्नु पर्छ कि पर्दैन?’
 
केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत विषयवस्तु र सभापति शेरबहादुर देउवाले प्रत्येक सदस्यहरुलाई बोल्नका लागि दिएको समयसीमाप्रति लक्षित गर्दै उनले बैठकमा छलफलका एजेण्डा ५ विषय रहेको र बोल्न पनि ५ मिनेट मात्रै दिएको कारण आफूले आफ्नो धारणा लिखित रुपमा राख्न चाहेको बताइन्।

साथै उनले सबै नीतिको माउनीति राजनीति भएको उल्लेख गर्दै अहिले राजनीति गर्ने सबै बेइमान हुन र अझ पुराना दल र नेताहरुको काम छैन भन्ने भाष्य निर्माण गर्दै जनतामा राजनीतिप्रति वितृष्णा फैलाउने मात्रै होइन जातजाति र भाषा, धर्मका नाममा समाजमा विभाजनको रेखा कोदै व्यवस्थामाथि नै प्रहार गर्ने कोशिश भइरहेको तर्फ गम्भीर हुन सबैलाई आग्रह गरिन्।,

न्यौपानलेले गणतन्त्रको स्थापना, संविधान घोषणा र कार्यान्वयनको सुरुवात समेत कांग्रेसकै नेतृत्वमा भएकोले यो व्यवस्था बचाउन एवं संविधानको सफल कार्यान्वयन गर्ने दायित्व पनि कांग्रेसकै भएको बताइन्।

उनले भनिन्, ‘यो दायित्व हाम्रो हो।कठिन छ, हाम्रो लागि चुनौतीको विषय पनि हो तर, यस्को विकल्प छैन।’

उनले संघियता, गणतन्त्रात्मक शासन प्रणाली किताबमा पढ्ने बिषय मात्र नभएको उल्लेख गर्दै यसलाई जनताले अनुभूति गर्न सक्नेगरी व्यवहारमाा लागू गर्न सकिएको खण्डमा मात्रै संविधान र व्यवस्थाको बचाउ गर्न सकिने बताइन्।

साथै उनले पार्टीको आगामी महासमिति बैठकमा संविधानका कतिपय प्रावधान विपरितका प्रावधानहरु रहेको विधानका बुँदाहरु संशोधन गरी संविधान अनुकूल बनाउन पनि माग गरिन्।

यसका अतिरिक्त उनले आउँदै गरेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीले उम्मेदवार तय गर्दा एउटा निश्चित मापदण्डका आधारमा गर्न पनि सुझाव दिइन्।

प्रस्तुत छ, नेतृ न्यौपानलेले व्यक्त गरेकोे अभिव्यक्तिको सम्पादित अंशः  

एजेण्डाका पाँच विषय, समय पाँच मिनेट, तसर्थ लिखित रुपमा केही कुरा राख्न चाहन्छु।

सभापतिज्यू,
सबै नीतिको माउ नीति राजनीति हो तर, राजनीतिप्रति जनतामा कताकता बितृष्णा उत्पन्न हुँदै गइरहेछ। राजनीति गर्नेहरु सबै बेइमान हुन् भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ। अझ पुराना पार्टीको काम छैन, केही गर्न सक्दैनन्, गर्ने हामिले हो। ०८४ मा बहुमत हामीलाई भनेर केही नयाँ  दल कुर्लँदैछन्, भने केही जातजाति भाषाभाषी धर्मलाई उछालेर समाजमा विभाजनको रेखा कोर्न अग्रसर छन्। यो व्यवस्थामाथि नै प्रहार गरिरहेका छन।

गणतन्त्र स्थापना, संविधान घोषणा र कार्यान्वयनको समेत सुरुवात काँग्रेसको नेतृत्वमा भएकोले यो व्यवस्था बचाँउन एवं संविधानको सफल कार्यान्वयन गर्ने दायित्व पनि हाम्रो हो। कठिन छ, हाम्रो लागि चुनौतीको विषय पनि हो तर, यस्को विकल्प छैन।

संघियता, गणतन्त्रात्मक शासन प्रणाली किताबमा पढ्ने बिषय मात्र होइन। व्यवहारमा जनताले साँच्चिकै  अनुभूति गर्ने बिषय हो। जुन दिन यो व्यवस्था मैले ल्याएको हो, यसलाई बचाउन मेरो हर सम्भव कोसिस रहन्छ भन्ने सोच हराएर व्यवस्था ल्याउन त लडेँ तर, हाम्रो पक्षमा केही काम हुन सकेन, यसको बचाउमा म किन लाग्ने भन्ने जनताले सम्झन थाल्छन्, त्यस दिनदेखि यो देशकै र हामी सबैको दुर्भाग्यको सुरुवात हुन्छ। जनता सर्वोपरि हुन्, हामीले गर्ने प्रत्यक कार्य जनताले सुक्ष्म रुपमा नियालीरहेका हुन्छन्। हामीले गर्ने काम जनताको पक्षमा उनले महसुस गर्ने गरी हुनु पर्दछ। सत्तामा हुँदा हामी अझ बढि सम्बेदनशिल हुनुपर्दछ।

हामीले काम नगरेको पनि होइन, सोचे जति सकेनौ होला तर, काम गरेर पनि प्रचार गर्न नजानेको हो कि? कसैको पैदल यात्रा मात्र पनि हेडलाईन बन्छ, भर्खरै हामीले भुकम्प पीडितलाई तत्कालै सबैभन्दा पहिला ५० लाख दिने निर्णय, १००० घर बनाउन लागेक‍ो, समाचार बन्दैन। त्यसैले अब काम गर्ने अनि गरेको कामको  प्रचारप्रसार एकपल्ट मात्र होइन, कम्तीमा दस पल्टसम्म पनि गर्ने गरौँ।

आफ्नै साथीको विरोध गर्ने समय र शक्ति पार्टीले गरेको राम्रो कामको प्रचार गर्न कञ्जुस्याई नगरौँ भन्ने म आग्रह गर्दछु। चित्त नबुझ्दा भित्र लडौँ तर, बाहिर कांग्रेसकै अहित हुने गरेर बाझाबाझ नगरौं। यसले सिंगो कांग्रेसलाई क्षति पुग्दछ भने कार्यकर्ता एवं हामीलाई माया गर्ने जनतामा पनि बितृष्णा उत्पन्न हुन्छ।

महाभुकम्प, कोरोना, बाह्य युद्ध, राजनीतिक अस्थिरताको नकारात्मक प्रभावलाई चिर्दै अर्थतन्त्र लयमा फर्कन लागेको हो की जस्तो भान हुँदैछ। गरिव बाबुआमाले आफ्नो सन्तानलाई सन्तुष्ट राख्न कति गाह्रो हुन्छ त्यस्तै छ आज देशको स्थिति त्यो हामी बुझ्दछौ। तर, पनि  संघ र प्रदेशमा मन्त्री बन्नु भएकाहरु, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि ज्युहरु आफ्नो जिल्ला क्षेत्र प्रदेश र गाउमा, त्यो पनि आफु केन्द्रित भएर कार्यहरु गर्न लाग्नुभएन भने, म सबै कांग्रेसीको प्रतिनिधित्व गर्छु, मैले गरेको कामले सिङ्गो कांग्रेसलाई प्रभाव पार्छ भन्ने सोच राखेर ईमान्दारीपुर्वक काम गर्नुभयो भने मात्र पनि कांग्रेस सफल हुन्छ।

समुदायमा जादा पनि त हामीले गरेका राम्रा कामहरु भन्नू पनि त पर्नेछ नी। भाषणले मात्र त जनता अघाइसके।

शिक्षाको स्थिति निकै निराशाजनक छ। जहाँ भर्नाको लागि तछाड मछाड हुन्थ्यो आज त्यहा विद्यार्थी नै आउँदैनन् त्यो पनि ईन्जिनियरिङ कलेज जस्तोमा।
सक्नेले पढ्न विदेश पठाउनु नसक्नेले कमाउन बिदेश पठाउनु आजको नियति बनेको छ

डाक्टर नर्सहरुको संख्या पुगेको छैन भन्छौ, नेपालका यी बिषय पढ्ने कलेजहरु कहिले तालाबन्दी त कहिले सरकारको नीतिकै कारणले बन्द भएका कारण बिद्यार्थी पढ्न विदेशिन बाध्य छन्।

सभापतिज्यू, युवाहरुको भविश्य गाँसिएको शिक्षा क्षेत्रलाई समेटेर काँग्रेसले छुट्टै एउटा बैठक राखेर गहन छलफल गर्नुपर्दछ भन्ने म अनुरोध गर्दछु।

राष्ट्रिय सभाको निर्वाचन नजिकै छ। जिल्ला र प्रदेशबाट परेका सबै नामहरु पठाएको भन्ने सुन्दै छौ। गाह्रो छ तरपनि केही निश्चित मापदण्ड तय गरेर  निर्विवाद रुपमा नै उम्मेदवार छनौट गर्न सके सकारात्मक सन्देश जाने थियो।

वर्तमान महासमिति नीति अधिवेशन त  हो नै महाधिवेशनमा विधान सम्बन्धि विषय समेत छलफल गर्न सकेनौ। हामीले हाम्रो विधान संविधान अनुसार नै बनाउने कोशिश गरेका छौ, तर कतिपय ठाउँमा अलि जटिल भएको मैले महशुस गरेको छु। आवश्यकता अनुसार संशोधन गरौँ र संविधान अनुसार सभापति र उपसभापति मध्ये एक महिला अनिवार्य हुनु पर्ने व्यवस्था पनि यहि महासमितिबाट पास गरौँ।

भात्रृ र भगिनी संस्थाको अधिवेशन सरल बनाऔँ। प्रजातान्त्रिक अभ्यास त भन्छौ तर, अधिवेशन गर्नै गाह्रो अधिवेशनपछि चलाउनै गाह्रो परिस्थिति सधैँ आइरहने समस्या हो। बरु छलफल गरौँ, केन्द्रदेखि गाउँसम्मका सभापतिले नै भात्रृ र भगिनी संस्था बनाउने चलाउने र त्यो कार्यकालको जस÷अपजस लिने व्यवस्था गरौँ।

अन्त्यमा हामी गठबन्धनमा छौ, प्रधानमन्त्रीज्यूले कहिले मलाई काम गर्ने हुटहुटी छ, मन्त्रीहरुको कामदेखी सन्तुष्ट छैन। कहिले गठबन्धनको कारणले सोचेजस्तो गर्न सकिँन भन्नुभएको छ। गल्ती आफुले गरेर अर्काको टाउकोमा दोष त थोपर्दै हुनुहुन्न? आफ्नोे पक्षमा र अरुको विपक्षमा बोलेका यस्ता कुराहरुको खबरदारी गर्नु पर्छ कि पर्दैन?
पूर्व उपसभामुख, पूर्व कोषाध्यक्ष एवं वर्तमान केन्द्रीय सदस्य चित्रलेखा यादवदज्यूको शिघ्र स्वास्थ्यलाभको कामना।

 

Friday, Dec 29