हिमाल दैनिक
माओवादीका ६ उम्मेदवारहरुको सूचिमा झक्कु सुवेदीदेखि रेणु चन्दको नाम पनि
file photo

सत्ता गठबन्धनका सहयात्री दलबीच सीट बाँडफाँट टुंगिएलगत्तै सत्तारुढ नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका प्रदेश र समूहगत उम्मेदवारको नामावली टुंगो लगाएको छ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभाका १९ स्थानमध्ये ६ स्थानमा उम्मेदवारी दिने सहमति गरेको माओवादीले आइतबार अपरान्ह आफ्ना सम्भावित उम्मेदवारको सूचि तय गरेको हो।

जसमा महिला कोटाको उम्मेदवार दिने सहमति पाएको माओवादीले कोशी प्रदेशमा चम्पादेवी कार्कीलाई उम्मेदवार बनाउने भएको छ भने, दुई स्थान रिक्त हुन लागेको मधेस प्रदेशमा कुनै भाग नपाएपछि उक्त पार्टीले मधेसमा कुनै उम्मेदावरी नदिने भएको छ।

यसैगरी वागमती प्रदेशमा अपाङ्ग वा अल्पसंख्यक कोटा पाएको माओवादीले श्रीकृष्ण अधिकारी, गण्डकीमा महिला कोटामा मनरुपा शर्मा, लुम्बिनीमा अन्य पूरषतर्फ रोल्पाका झक्कु सुवेदी, कर्णालीको दलित कोटामा विष्णु विश्वकर्मा तथा सुदूरपश्चिममा महिला तर्फ रेणु चन्दको नाम टुंग्याएको हो।

उक्त नामावलीको विषयमा माओवादीले गठबन्धन दलबाट प्रस्तुत उम्मेदवारहरुको नाम तथा समूह मिलाएर अन्तिम टुंगो लगाएपछि सोमबार सम्बन्धित प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गर्नेछ।

Sunday, Jan 07