हिमाल दैनिक
सिटौला र चम्पाले दर्ता गराए कोशी प्रदेशमा आफ्नो उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा गठबन्धनको तर्पmबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा माओबादी केन्द्रबाट चम्पादेवी कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले दिएको समयमा सोमबार बिहान कांग्रेस नेता सिटौला र माओवादी उम्मेदवार कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेका हुन्।

सिटौलाको उम्मेदवारी पत्रमा कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभा सदस्य प्रदिप सुनुवार प्रस्तावक तथा हिमाल कार्की समर्थक रहेका छन् भने माओवदीकी उम्मेदवार कार्कीको प्रस्तावकमा माओवादीकै प्रदेशे सांसद गणेश उप्रेती र समर्थकमा कांग्रेसका प्रदेश सभा सदस्य राम खत्री रहेका छन्।

कांग्रेसका नेता सिटौला विगतमा ०७४ र ०७९ मा सम्पन्न प्रतिनिधी सभा सदस्यको निर्वाचनमा झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसंग पराजित भई संसदीय राजनीतिबाट पाखा लाग्न पुगेका थिए।

तर, यसअघिको कम्युनिष्ट गठबन्धनले निर्वाचनमा पराजित भएका नेताद्वय वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभा सदस्यमा निर्वाचित र मनोनित हुने बाटो खोलिदिएपछि सोही बाटोको माध्यमबाट सिटौला पनि संसदभित्र प्रवेश गर्ने लगभग पक्कापक्की भएको छ।

वर्तमान सत्ता गठबन्धनबिचको चुनावी तालमेल र भागवण्डका आधारमा कोशी प्रदेशबाट अन्यतर्फको सिटमा उम्मेदवारी दिएर सांसद बन्ने बाटो खुल्ला गरेका सिटौला फागुन २० गतेपछि रिक्त हुने राष्ट्रिय सभाको अध्यक्ष पदका प्रमुख आकांक्षी पनि हुन्।

यसअघि गठबन्धनबिच भएको सहमतिमा कोशी प्रदेशबाट रिक्त हुन लागेका दुई सिट अन्य र महिलामध्ये अन्यमा सिटौलालाई र महिलाको कोटामा माओवादीकी कार्कीलाई उठाउने निर्णय भएको थियो।

उम्मेदवारी दर्ता गरेपछि नेता सिटौलाले गठबन्धन दलहरु एक भएर लाग्ने र एक भएर अगाडी बढ्ने बताए। उनले पार्टीभित्रका विवाद पनि मिलाउने र आगामी दिनमा गठबन्धनलाई अझ बलियो बनाएर लैजाने दाबी गरे।

गठबन्धनको मतभारसामू पराजयको बाहेक अन्य कल्पना नगरेको प्रमुख विपक्षी दल नेकपा एमालेले भने अन्य समूहको उम्मेदवारका रुपमा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्र्टीले उपाध्यक्ष उद्धव पौडेललाई उम्मेदवार बनाएको छ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update