हिमाल दैनिक
राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुले साढे ३ लाख रुपैयाँमा चुनाव लड्नु पर्ने!

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने निर्वाचन खर्चको सीमा तोकिदिएको छ।

विभिन्न राजनीतिक दलका तर्फबाट सातै प्रदेशबाट निर्वाचित हुने १९ सीटका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरुका लागि निर्वाचन ऐन र नियमावलीको अनुसूचिमा उल्लेखित प्रावधान बमोजिम बढीमा जम्मा साढे तीन लाख रुपैयाँ खर्च गर्न पाउने बताएको छ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार जारी गरेको विज्ञप्ति अनुसार, उक्र खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी साधनको इन्धन, प्रचार प्रसार सामाग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचारप्रसार, कार्यालय संचालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने उल्लेख छ।

यसरी उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तिय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र त्यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नामसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन अयोगले निर्देशन दिएको छ।

यसरी गरिएको खर्चको विवरण निर्वाचन सम्पन्न भएको मितिले ३० दिनभित्र आयोग वा आयोगको कार्यालयमा पेश गर्न पनि उम्मेदवारहरुलाई निर्देशन दिइएको छ।

आयोगले तय गरेको निर्वाचन खर्चको सीमाभित्र भने कुनै पनि उम्मेदवार रहन नसक्ने व्यवहारिक पक्षलाई आयोगले गरेको नजअन्दाजले आयोगको खर्च सीमाको हद केबल औपचारिकतामा मात्रै सीमित हुने पक्का छ।

किन भने, निर्वाचनमा मनोनयन दर्ता गरेर निर्वाचन चिन्ह प्राप्त गरेपछि निर्वाचन सम्पन्न नहुँदासम्मको जम्मा जम्मी १० दिनका लागि मात्रै कुनै उम्मेदवारले एउटा गाडी भाडामा लिनु पर्यो भने पनि त्यसको भाडा नै २ लाख रुपैयाँले भ्याउँदैन। यसका अतिरिक्त, उम्मेदवारहरुको दैनिक खाना, खाजा, चियाँ नास्तादेखि होटल खर्चको सीमा हर्ने हो भने पनि आयोगको निर्णय र निर्देशन बमोजिम सीमाभित्र रहन कुनै पनि उम्मेदवारलाई सम्भव देखिँदैन।

 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update