Tihar Banner
Tihar Banner
हिमाल दैनिक
आज शहीदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिनः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत मङ्गलबार सहिद दिवसको अवसरमा लैनचौरस्थित सहिद स्मारकमा आयोजित कार्यक्रममा शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

प्रधानमन्त्री पुष्पकमल दाहालले आजको दिन शहीदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताउनुभएको छ ।

शहीद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहीदहरूले उच्च बलिदान गर्नुभएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।”

शहीदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने जनाउँदै प्रधानमन्त्रीले शहीदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभयो । उहाँले जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ मा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायतका शहीदको स्मरण र सम्मान गर्नुभयो ।

सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्दछु ।” प्रत्येक वर्ष माघ १६ गतेलाई शहीद दिवसका रूपमा मनाउँदै आइएको छ ।

Tuesday, Jan 30