हिमाल दैनिक
प्रधानमन्त्री दाहालले शहिदहरुको अपमान गरेको नेता कोइरालाको आरोप

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शहिदहरुको अवमूल्यन हुने प्रधानमन्त्री पुष्पकमल दाहालले काम गरेको आरोप लगाएका छन्।

मंगलबारबाट सुरु भएको ‘समुदायमा कांग्रेस’ अभियानको विराटनगरमा सुरुआत गर्दै नेता कोइरालाले शहिदको अवमूल्यन हुने काम प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको बताएका हुन्।

कांग्रेससहितको सत्ता गठबन्धनमा सरकारको नेतृत्व गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेको प्रधानमन्त्री दाहालविरुद्ध कोइरालाले प्रजातन्त्रका निम्ती बलिदानी दिएका शहिदको अवमुल्यन गरेको गम्भीर आरोप लगाउँदै भने, ‘प्रधानमन्त्रीजीले ३ हजार थप शहिद थप्ने कुरा गर्नु भयो। शहिद दिवसका दिन हामीले शहिदहरुलाई अवमूल्यन गर्न भएन। त्यो कुरामा ध्यान दिन आवश्यक छ।’

नेता कोइरालाले थप्दै भने, ‘शहिदको वास्तविक परिभाषालाई अंगिकार गरि अघि बढ्दा शहिदहरुप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्छ। शहिदको संख्या थप्दै गर्दा शहिदकै अपमान हुने बुझेको छु।’

प्रधानमन्त्री पुष्पकमल दाहालले माघ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा करिब ३ हजारलाई छिट्टै शहिद घोषणा गर्ने अभिव्यक्ति दिएका थिए।

त्यसैगरि, कार्यक्रममा नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझ्न अघि बढेको जानकारी दिए।

उनले समुदायस्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात गर्दै सच्चिएर कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए। उनले विराटनगरमा शुद्ध खानेपानीलाई प्रभावकारीरुपमा जनतामाझ पुराउन महानगरले काम गर्दै आएको बताए।

जापानको सहयोगी संस्था जाईकाले महानगरभित्र विच्छाइएको खानेपानीको पुरानो पाईप विस्थापित गर्दै नयाँ पाइप लगाउने कार्य अघि बढेको उल्लेख गरे। त्यसैगरि, सुकुम्बासी र सिंघिया खोलाको तटबन्धको समस्याबारे उठेको जिज्ञासा नेता कोइरालाले सिंघिया खोलामा अस्थायी तटबन्ध बन्ने बताए।

उनले भने, ‘प्रदेश सरकारले यस क्षेत्रमा कोरिडोर निर्माण गर्नेछ। यसका लागि ठूलो बजेट लाग्ने र समय लाग्ने हुदाँ अब केही समय धैर्य गरिदिन आग्रह छ।’

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update